चैत १७ धनगढी
नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन् । डडेल्धुरा र डोटीको सङ्गमस्थल गहनान धाममा आयोजित श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने संस्कृति नेपालीको पहिचान भएको उल्लेख गरे । पछिल्लो समयमा केही सांस्कृतिक विचलन देखिएको भन्दै यस्ता धार्मिक कार्यक्रमले समाजलाई सचेत गराउने धारणा व्यक्त गरे ।
‘हाम्रो संस्कृति हिन्दू परम्परामा आधारित छ। गाईपूजा, गाईको गोबरको उपयोग, र गौ हत्या प्रतिबन्धजस्ता मान्यताहरूलाई सुदृढ बनाउन प्रतिबद्ध छौँ,’ देउवाले भने ।
गहनानधाम ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण क्षेत्र भएको स्मरण गर्दै उनले त्रिवेणीधामको धार्मिक महत्त्वको चर्चा गरे । हिमालबाट बगेको सेती नदीमा स्नानले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास रहेको बताए ।
गहनान क्षेत्र विकास समितिले धार्मिक पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासका लागि महायज्ञको आयोजना गरेको हो । सेती नदीमा पुल, संस्कृत विद्यालय, तटबन्ध निर्माण लगायत पूर्वाधार विकासको मागसहित देउवालाई ज्ञापनपत्र बुझाइएको शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरले जानकारी दिए । महायज्ञ चैत २५ गतेसम्म सञ्चालन हुनेछ ।