सञ्चारकर्मी र सञ्चारगृहमाथी आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

चैत १८ धनगढी
यही चैत १५ गते राजावादी अराजक समुहको आन्दोलनमा पत्रकार र सञ्चारगृहमाथी आक्रमण गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराईएको छ । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत नेपाल पत्रकार महासंघ कैलालीले सो घटनाका दोषीहरुलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले प्रमुख जिल्ला अधिकारी हमाललाई ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ । यस्तै मृतक पत्रकारको परिवार लाई क्षतिपुर्ति दिन तथा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथी आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ । ‘सञ्चार माध्यम र सञ्चारकर्मीहरुमाथी आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु-याईएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘साथै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनाहरुमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघ माग गर्दछ ।’ ध्यानाकर्षण पत्रमा महासंघको माग एक साताभित्र सम्बोधन हुने विश्वसनिय आधार निर्माण गर्न पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आग्रह गरिएको छ । महासंघको मागलाई वेवास्था गरिएको खण्डमा सरकारविरुद्ध देशव्यापी आन्दोलनमा महासंघ उत्रन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले उक्त ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी हमाललाई प्रदान गरेका थिए । सो पश्चात बोल्दै देउवाले ध्यानाकर्षण पत्रमा समष्टिगत रुपमा देशभरीको विषयवस्तु कैलाली शाखामार्फत केन्द्रिय सरकारलाई पठाईएको बताए । जिल्लाका सञ्चारकर्मी तथा सञ्चारगृहमाथी विभिन्न बहानामा आक्रमण भैरहेकाले त्यतातिर पनि ध्यान दिन उनले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । ‘कैलालीमा पत्रकारहरुलाई स्वच्छ तथा स्वतन्त्र रुपमा पत्रकारीता गर्ने वातावरण बनिरहेको छैन’ उनले भने ‘त्यसैले कैलालीलाई मिडियामैत्री जिल्ला बनाईदिन र सरकारी कार्यालयहरुमा सहज सूचना पहुँचमा पनि समन्वय गरीदिन म अनुरोध गर्न चाहन्छु ।’

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले काठमाण्डौको तिनकुनेमा भएको घटनामप्रति खेद प्रकट गरे । उनले शान्तिपुर्ण तरिकाले सरकारसमक्ष आफ्ना मागहरु राख्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले तिनकुनेमा भएको हिंसात्मक घटना र सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाईएकोमा सरकारले विशेष छानविन समिति बनाएर कारबाही अगाडी बढाएको बताए । सो विषयमा जिल्ला प्रशासन कार्यालय कैलाली गम्भीर रहेको समेत बताए । उनले सूचनाको हकको कार्यान्वयन गर्ने सन्र्दभमा राज्यलाई नागरिकप्रति जिम्मेवार बनाउने र सुशासन कायम गर्ने सम्बन्धमा पत्रकारीताको भुमिका अहम रहेको बताए । उनले काम गर्ने सन्दर्भमा सञ्चारकर्मीमाथी कुनै पनि निकायबाट गलत व्यवहार भए तथा धाकधम्की आएको खण्डमा आफूहरुलाई समयमै जानकारी दिन आग्रह गरे । त्यस्ता किसिमका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षा र सुशासन कायम गर्ने कुरामा सजग हुने उनको भनाई छ ।

यही चैत १५ गते काठमाण्डौको तिनकुनेमा राजावादी अराजक समुहले हिंसात्मक प्रर्दशन गर्दा एक जना पत्रकारको ज्यान गएको थियो । समाचार संकलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । आन्दोलनकारीहरुले अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनमा आगो लगाउनुका साथै ढुंगामुडा प्रहार गरी क्षति पु¥याएका थिए भने कान्तिपुर टेलिभिजनको भवनमा पनि क्षति पु-याएका थिए ।

यस्तै हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गरिनुका साथै पत्रकार दिनेश गौतममाथी आक्रमण गरी खुट्टा भाँच्ने र फोटो पत्रकार निराज तामाङको क्यामेरा खोसेर गायब पार्ने लगायतका गतिविधिहरु भएका थिए । यसरी पत्रकार तथा सञ्चारगृहमाथी नियोजित आक्रमण भएको भन्दै पत्रकार महासंघले देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ । साभार अत्तरिया अनलाइन

ध्यानाकर्षण पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply