चैत २२ धनगढी
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका विद्यार्थीहरुले आमरण अनसन सुरु गरेका छन । क्याम्पसमा यही चैत्र २७ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गरिएपछि विद्यार्थीहरू अनसनमा बसेका हुन ।
उनिहरुले अबिलम्ब स्ववियु निर्वाचन गर्नुपर्ने माग राखेका छन । विद्यार्थी नेता छत्र खड्काको अगुवाइमा बिहीबारदेखि अनसन सुरु भएको हो । चैत्र १७ गते स्ववियु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको तालाबन्दीपछि निर्वाचन स्थगित गरिएको थियो । सो निर्णयविरुद्ध विद्यार्थीहरु अनसनमा बसेको बताईएको छ । खड्काले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसअघि पनि यस्तै तालाबन्दीका कारण दुई वर्षसम्म विद्यार्थी प्रतिनिधिविहीन बनेका थिए । फेरि पनि त्यही अवस्थाको पुनरावृत्ति हुन लागिरहेको छ ।’
निर्वाचन स्थगित भयो भने सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ अनुसार विश्वविद्यालयको सभा सदस्यमा केन्द्रीय क्याम्पसको प्रतिनिधित्व हुने अधिकार समेत अन्य आङ्गिक क्याम्पसमा सर्न सक्ने विज्ञप्तीमा भनिएको छ । खड्काले स्ववियु प्रतिनिधिको अभावमा विद्यार्थीहरू गुणस्तरीय शिक्षाको अधिकारबाट वञ्चित हुने बताएका छन् । ‘स्ववियु संस्था बन्धक बनाई विद्यार्थीको प्रतिनिधित्व समाप्त पार्ने र गुणस्तरीय शिक्षामा अवरोध पु-याउने षड्यन्त्र भइरहेको छ । यस विरुद्ध हामी सबै विद्यार्थी एकताबद्ध हुन जरुरी छ’ खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
छत्र खड्का स्वयं आमरण अनसनमा बसेका छन् भने अन्य केही विद्यार्थीहरू रिले अनसनमा सहभागी छन् । उनीहरूले निर्वाचन सुचारु नहुँदासम्म सत्याग्रह जारी रहने चेतावनी दिएका छन् । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । अत्तरिया अनलाइन