हेमा भट्ट २४ चैत २०८१
धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल प्रा.लि. नयाँ व्यवस्थापनसहित १०० शैयामा सेवा विस्तार गर्दै पुनः सञ्चालनमा आएको छ। आधुनिक प्रविधि, दक्ष चिकित्सक र विशेषज्ञ सेवासहित सुदूरपश्चिममै अग्रणी स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित हुँदै गएको यस अस्पतालले सम्पूर्ण क्षेत्रलाई गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
अस्पताल व्यवस्थापनका अध्यक्ष दिपेन्द्र तिवारीले आज आयोजित पत्रकार सम्मेलनमार्फत गरिब तथा विपन्न वर्गका बिरामीहरूका लागि विशेष छुटको व्यवस्था गरिने जानकारी दिएका छन्। उनले अस्पतालले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सबै वर्गका नागरिकहरूलाई सहज र सुलभ उपचार सेवा दिने दिशामा विशेष योजना अघि बढाइएको बताए।
अध्यक्ष तिवारीका अनुसार, सुदूरपश्चिम क्षेत्रका नागरिकहरू भारत उपचारका लागि जानुपर्ने बाध्यता न्यूनीकरण हुँदै गएको छ र अहिले भारततिर उपचारका लागि जाने संख्या उल्लेखनीय रूपमा घटेको छ, जुन स्वदेशमै उच्चस्तरीय स्वास्थ्य सेवा विस्तारले सम्भव भएको हो।
स्वस्तिक अस्पतालले २४ सै घण्टा आपत्कालीन सेवा, जनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक–कान–घाँटी, मुटु, रेडियोलोजी, दन्त, न्युरो र युरो सर्जरी, ल्याप्रोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड लगायतका सेवा प्रदान गर्दै आएको छ।
अत्याधुनिक प्रविधिसहितको ९९.५% संक्रमणरहित मोडुलर शल्यक्रिया कक्ष (ओटी), आईसीयू, एनआईसीयू, वातानुकूलित कक्षहरू, स्तरीय एम्बुलेन्स सेवा, गुणस्तरीय औषधिसहितको फार्मेसी तथा २४ सै घण्टा स्वास्थ्यकर्मी उपलब्ध गराउने सुविधाले अस्पतालको सेवा गुणस्तरलाई नयाँ उचाइमा पुर्याएको छ।
अस्पतालले अब पूर्णकालीन आईभीएफ केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ, जुन सुदूरपश्चिममै पहिलो हुने बताइएको छ। साथै, सीटीईभीटी तथा विभिन्न विश्वविद्यालयहरूसँगको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि नर्सिङ तथा अन्य चिकित्सा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
विगतमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको अस्पतालले ती शिविरहरूलाई अब अझ परिष्कृत, नियमित र प्रभावकारी बनाउने योजना अघि सारेको छ।
अस्पताल व्यवस्थापनले सुदूरपश्चिमवासीको विश्वासलाई अझ मजबुत बनाउँदै स्वदेशमै सर्वसुलभ, गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्दै जाने अठोट व्यक्त गरेको छ।