धनगढी, बैशाख २७ – धनगढीस्थित एक मन्दिरको परिसरमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ भने प्रहरी प्रशासनको भूमिकाप्रति प्रश्न उठाइएको छ।
स्थानीयका अनुसार शव मन्दिर पछाडि रहेको स्थानमा फेला परेको हो। मन्दिरका पुजारीले बताए अनुसार, उनले साँझ साढे ७ बजे मन्दिर बन्द गरेका थिए र बिहान साढे ५–६ बजेतिर मन्दिर फर्किएका थिए। पुजारीले भने, “बिहान म मन्दिरमा आएको थिएँ। साढे ६ बजेतिर पतञ्जलि योग समितिका मान्छेले यहाँ शव छ भनेपछि मलाई थाहा भयो।”
घटनाको जानकारी फैलिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। पुजारीले मन्दिरको अगाडिको मुख्य गेटमा ताला लगाइएको भए पनि अन्य तीन गेटबाट मन्दिरमा प्रवेश गर्न सकिने जानकारी दिए।
स्थानीय बासिन्दाहरूले घटनास्थल प्रहरी कार्यालयको ठीक अगाडि भए पनि प्रहरी अनविज्ञ भएकोप्रति आक्रोश पोखेका छन्। उनीहरूले यो घटना प्रहरीको गम्भीर लापरबाही भएको भन्दै दोषारोपण गरेका छन्।
एक स्थानीय बासिन्दाले भने, “हामी प्रहरी कार्यालय अगाडि यस्तो बीभत्स घटना घट्दा पनि प्रहरीलाई थाहा नहुने भनेपछि हामी कसरी सुरक्षित महसुस गर्न सक्छौं?”
प्रहरीले शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी थापाले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
शवको पहिचान र मृत्युको कारण अझै खुल्न बाँकी छ। स्थानीयले निष्पक्ष र शीघ्र छानबिनको माग गरेका छन्।