रैकवार खबर
२०८१ साल चैत्र २७ गते, बुधवार,
सुदूरपश्चिमको धनगढीस्थित होटल सौराईमा नेपाल बौद्ध अम्बेडकर महासभाको आयोजनामा दलित समुदायका हक, अधिकार र वर्तमान संविधानको प्रभावबारे विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अध्यक्षता महासभाका अध्यक्ष मनोज जैगडीले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री विश्वेन्द्र पासवान रहनुभएको थियो। साथै पुर्वमन्त्री तथा प्रदेशका पूर्व सामाजिक मन्त्री टेकबहादुर रैका, सरोकारवाला, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख वक्तव्यहरू:
पूर्वमन्त्री विश्वेन्द्र पासवानले आफ्नो संविधानसभा सदस्य र मन्त्री भएको अनुभव प्रस्तुत गर्दै वर्तमान सरकार गणतन्त्रप्रति कमजोर देखिएको बताए। उनले भने, “गणतन्त्र बचाउन समयमै कदम चाल्नुपर्छ। राजावादी सोच बलियो हुँदै गएको देखिन्छ। त्यसको प्रतिवाद गर्न सरकार गम्भीर हुनुपर्छ।”
पासवानले हालको सरकारलाई बीपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीको सपना बिर्सिएको आरोप लगाए। संविधानसभामा दलित, आदिवासी, मुस्लिम, गरिब र उत्पीडित वर्गका लागि संविधान बनेको भए पनि अहिले उनीहरूको हकमा धोका भएको तर्क गरे।
उनले राष्ट्रपतिलाई यथाशीघ्र निर्णय लिन आह्वान गरे र दलित समुदायबीच गोलमेच संवादमार्फत साझा रणनीति बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
सन्देश:
कार्यक्रम “शिक्षित बनौं, संगठित होऔं, संघर्ष गरौं” भन्ने मूल नारासहित सम्पन्न भयो। कार्यक्रमको समापन विशेष संवाद र पत्रकारसँगको अन्तर्क्रियासहित गरिएको थियो।