हेमा भट्ट २९ चैत २०८१
कञ्चनपुर – सीमावर्ती जिल्ला कञ्चनपुरमा नक्कली नोटको जोखिम बढ्दै गएपछि राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले जिल्लाका बैंक, वित्तीय संस्था तथा सहकारी संघ संस्थाका कर्मचारीहरुलाई नक्कली नोट पहिचानबारे अभिमुखिकरण गरेको छ।
महेन्द्रनगरमा आयोजित कार्यक्रममा नक्कली तथा शंकास्पद विदेशी मुद्राको पहिचान, नोट सटही प्रक्रिया, र वित्तीय कारोबारसम्बन्धी संवेदनशील जानकारी प्रदान गरियो।
राष्ट्र बैंकका सहायक निर्देशक अर्जुन बहादुर धामीका अनुसार पछिल्ला वर्षहरूमा नक्कली नोटको गतिविधि बढेकाले यस्ता अभिमुखिकरण कार्यक्रम आवश्यक छन्। भारतसँगको सीमा नजिक भएकाले कञ्चनपुरमा पनि जोखिम रहेको बताउँदै उनले वित्तीय संस्थाका कर्मचारीलाई सचेत गराउनु पर्ने बताए।
कार्यक्रममा उप निर्देशक माधवप्रसाद पोखरेलले डलरसहितका विदेशी मुद्रामा समेत नक्कली नोटको जोखिम रहेको बताउँदै बैंकहरू सचेत रहनुपर्नेमा जोड दिए। सहायक प्रबन्धक समुद्र सापकोटाले नक्कली र सक्कली नोट पहिचान गर्ने तरिका तथा फिचरबारे जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक रोशन पन्त, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न बैंक तथा सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।