हेमा भट्ट २९ चैत्र २०८१
कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेशन फाउण्डेशन (सार्क स्कुल)ले आगामी शैक्षिक सत्र ०८२ बाट गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्दै नयाँ कार्यक्रमसहित शैक्षिक अभियान संचालन गर्ने भएको छ।
भीमदत्त नगरपालिका–४ मा अवस्थित यस संस्थाले शिक्षाको स्तर अभिवृद्धिका लागि विभिन्न रणनीतिक योजना अघि सारेको छ। नयाँ सत्रको सुरुआतसँगै विद्यालयले ‘समर क्याम्प’ अर्थात् विदा शैक्षिक अभियान पनि संचालन गरिसकेको छ। नयाँ वर्ष ०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयले समयसापेक्ष, विद्यार्थीको चाहना र प्रतिभाअनुसार शैक्षिक कार्यक्रम अगाडि बढाइने स्पष्ट पारेको हो।
विद्यालयका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतका अनुसार, अबको शैक्षिक कार्यक्रम विगतको तुलनामा अझ स्तरीय र व्यावसायिक हुनेछ। विद्यार्थीको चापलाई ध्यानमा राखी विद्यालयले स्कुल बस समेत थपेको जानकारी उनले दिए। “हामीले विश्वव्यापी लिडरशिप क्षमतासहितका विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएका छौं,” बस्नेतले बताए।
सार्क स्कुलले एकीकृत शैक्षिक प्रणालीअनुसार विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा जोड दिएको छ। निकट भविष्यमा विद्यालयले आफ्नै बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना समेत अघि सारेको छ।
प्रधानाध्यापक अशोकराज खातीले विद्यालयको मूल ध्येय गुणस्तर, सृजनशीलता र संस्कारयुक्त विद्यार्थी उत्पादन गर्नु रहेको बताए। “हामी ठूला होइन, असल र ज्ञानी नागरिक उत्पादन गर्न चाहन्छौं,” उनले भने।
विद्यार्थीको अतिरिक्त सिकाइ तथा अन्तरक्षमता विकासका लागि संचालन गरिएको समर क्याम्प अभियान अन्तर्गत ‘डिजाइन थिङ्किङ’ तालिम पनि दिइएको छ। यसमा प्रशिक्षक अजय यादवले आधुनिक युगमा सिर्जनशीलता जोगाउन डिजाइन थिङ्किङको आवश्यकता र महत्त्वबारे प्रकाश पारे।
विद्यालयका प्राज्ञिक निर्देशक दीपेन्द्र जोशीका अनुसार, विद्यालयले फरक र सृजनात्मक शैलीमा शिक्षण कार्यक्रम अगाडि बढाइरहेको छ। साथै, प्लस टु व्यवस्थापन प्रमुख जनकराज जोशीले गुणस्तरमा कुनै सम्झौता नगरी कार्यक्रम संचालन भइरहेको बताए।
प्लस टु कार्यक्रम संयोजक भागवत भट्टले बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई अतिरिक्त कार्यक्रममार्फत सशक्त बनाउन विभिन्न गतिविधि संचालन भैरहेको जानकारी दिए।
सार्क स्कुलको यो प्रयासले स्थानीय क्षेत्रमा शैक्षिक वातावरणमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।