चैत ३१ धनगढी
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भुजेला चौबिससत्तामा सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीमा कार्यरत सहायक हवल्दार सागर सुनारमाथि रड प्रहार भएको छ। उनी एसपी लोकेन्द्र भट्टका घुमुवा समेत हुन्।
शुक्रबार राति ड्युटीमा खटिएका सुनारमाथि करिब २०–२५ जनाको तस्कर समूहले एक्कासी आक्रमण गरेको सशस्त्र प्रहरी बलका एसपी लोकेन्द्र भट्टले पुष्टि गरेका छन्।
एसपी भट्टका अनुसार, सुनार सशस्त्र टोलीसहित श्रीलङकाको सीमावर्ती क्षेत्रमा ड्युटीमा थिए। सोही क्रममा अवैध चोरी–तस्करी रोक्ने प्रयास गर्दा तस्कर समूहले उनको टाउकोमा रडले आक्रमण गरी गम्भीर घाइते बनाएको बताइएको छ।
घटनामा संलग्न रहेको आशंकामा भीमदत्त नगरपालिका–११ निवासी भवानी ठगुन्ना उर्फ भुवनसहितका व्यक्तिहरूको संलग्नता रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीका अनुसार घाइते पक्ष र भवानी ठगुन्नाविरुद्ध उजुरी दर्ता भएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइते सुनारको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ।
यता, भवानी ठगुन्नाले भने घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार रातको समयमा एक अपरिचित व्यक्ति घरमा पसेपछि ‘चोर हो’ भन्ने शङ्कामा समात्ने प्रयास गर्दा झगडा भएको दाबी गरेका छन्। साथै, उनले घाइते सागर सुनार छुट्टीमा रहेको व्यक्ति भएको र आफूलाई त्यसबारे अघिल्लो जानकारी नभएको बताएका छन्।
यसबीच, घटनाको थप विवरण बुझ्न खोज्दा एसपी भट्टले यसलाई ‘सामान्य’ घटना भन्दै फोन वार्ता छोट्ट्याएका छन्।
स्थानीय सुरक्षा अवस्थामाथि प्रश्न उठाएको यस घटनाले सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी र सुरक्षाकर्मीमाथि बढ्दो हमलाको चिन्ताजनक संकेत दिएको देखिन्छ।