धनगढी, वैशाख २– धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी टिम ११ सन्सकरण क्रिकेट लिग टी–ट्वान्टी प्रतियोगिता अन्तर्गत मंगलबार दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। प्रतियोगितामा सुदूरपश्चिम होस्टेल र नेपाल वेस्टर्न एकेडेमीले आफ्नो-आफ्नो खेलमा शानदार जीत दर्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
पहिलो खेल: सुदूरपश्चिम होस्टेलको धमाकेदार जित
मंगलबार बिहान सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम होस्टेलले क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुललाई ९३ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जीत दर्ता गर्यो।
सुदूरपश्चिम होस्टेलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १६१ रन बनायो। टोलीका लागि विशाल बिष्टले ३८ रनको योगदान गरे भने अशोक बिष्टले २३ रन बनाए। बलिङतर्फ क्याम्ब्रिजका रबिन भण्डारी र दीपक शाहीले समान ३-३ विकेट लिए।
१६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको क्याम्ब्रिज टोली १४.५ ओभरमै सबै विकेट गुमाउँदै केवल ६८ रनमै समेटिएको थियो। सुदूरपश्चिमका सुरेश श्रेष्ठ र निरज अहिलेले समान ३–३ विकेट लिँदै विपक्षी टोलीलाई सस्तोमा समेट्न मुख्य भूमिका खेले। उत्कृष्ट प्रदर्शनका आधारमा साहिल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल: नेपाल वेस्टर्न एकेडेमीको सन्तुलित खेल, उत्तर त्रिशुल ४ पराजित
मंगलबार नै सम्पन्न दोस्रो खेलमा नेपाल वेस्टर्न एकेडेमीले उत्तर त्रिशुल ४ लाई २४ रनले पराजित गर्दै अर्को रोमाञ्चक जित दर्ता गर्यो।
पहिले ब्याटिङ गर्दै नेपाल वेस्टर्न एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो। उत्तर त्रिशुलका बलर अनुप छेडालले ४ विकेट तथा विशाल विकले ३ विकेट लिएर आक्रामक प्रदर्शन गरे।
जवाफी इनिङमा १४१ रनको लक्ष्य लिएर मैदान उत्रेको उत्तर त्रिशुल ४ ले २० ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्र बनाउन सक्यो। उत्तरका लागि विशाल विकले ४५ तथा विशाल खड्काले ४८ रन बनाए पनि जितका लागि पर्याप्त भएन। नेपाल वेस्टर्न एकेडेमीका सुनि सिंहले ४ विकेट तथा साहिल शर्माले ३ विकेट लिँदै टोलीलाई जितसम्म पुर्याए। म्यान अफ द म्याच साहिल शर्मा घोषित भए।
प्रतियोगिताको पुरस्कार र प्रायोजन
१३ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ र द्वितीय हुने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता चैतन्य पाठशालाको पावर्ड बाईमा सञ्चालन भइरहेको छ भने गुरुकुल एकेडेमी धनगढी र धनगढी उपमहानगरपालिका प्रायोजकका रूपमा रहेका छन्।
प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा योगदान पुर्याइरहेको छ। अझै रोमाञ्चक खेलहरू बाँकी रहेका प्रतियोगिताको सेमिफाइनल समीकरण चाँडै स्पष्ट हुने अपेक्षा गरिएको छ।