“जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु : कञ्चनपुरका सिडियो ढकाल”

हेमा भट्ट
वैशाख ३ धनगढी
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकालले जिल्लामा शान्ति, सुशासन, सुरक्षा तथा बेथिति न्यूनिकरणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बुधबार जिल्लाका पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा सिडियो ढकालले जिल्लामा विद्यमान समस्या पहिचान गरी आफ्नै तहबाट समाधानको पहल गर्ने जनाए।

उनले सीमा समस्या तथा लागुऔषध दुव्र्यसनीजस्ता विकराल समस्यालाई प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रशासनिक कार्ययोजना अघि बढाउने बताए। “महिला हिंसा र लागुऔषध दुव्र्यसन नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो,” उनले भने, “यसले समाजको संरचना नै भत्काउने खतरा रहेको छ, त्यसैले समयमा नियन्त्रण गर्नु अपरिहार्य छ।”

सार्वजनिक सेवा प्रभावकारी बनाउँदै नागरिकलाई सहज सेवा दिने आफ्नो उद्देश्य रहेको उल्लेख गर्दै ढकालले भन्सार लगायतका सार्वजनिक निकायमा देखिएका समस्याको समाधान सरोकारवालासँग समन्वय गरेर गर्ने प्रतिबद्धता जनाए। साथै, सार्वजनिक अतिक्रमित सरकारी जमिन फिर्ता गर्ने अभियानलाई निरन्तरता दिने बताएका छन्।

यसअघि कञ्चनपुरमै एलडिओको रूपमा सेवा दिइसकेका सहसचिव ढकाल पुनः प्रमुख जिल्ला अधिकारीको भूमिकामा फर्किएका हुन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकारहरूलाई सहज सूचना प्रवाहको वातावरण तयार गर्न आग्रह गरेका थिए।

सिडियो ढकालले जिल्लाको समग्र विकासका लागि सरोकारवाला पक्षहरूसँग परिचयात्मक कार्यक्रम गर्दै सहकार्यका लागि वातावरण तयार पारिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply