वैशाख ३ धनगढी
कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नर्सिङ्ग कोर्ष अध्यापन गर्ने तयारी थालेको छ। भीमदत्त नगरपालिका–३ मा रहेको उक्त अस्पतालले अस्पतालको क्षमता विस्तार गर्दै निकट भविष्यमा नर्सिङ्ग कक्षा सञ्चालन गर्ने बताएको छ।
केही वर्षदेखि कञ्चनपुरमा नर्सिङ्ग शिक्षा बन्द हुँदा विद्यार्थीहरू अन्य जिल्लामा जान बाध्य थिए। सेती महाकाली नर्सिङ्ग क्याम्पसमा पूर्वाधार अभावका कारण सरकारद्वारा नर्सिङ्ग कार्यक्रम कटौती भएपछि जिल्लामा नर्सिङ्ग पढाउने संस्थाको अभाव भएको हो।
मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाका अनुसार, “अस्पतालसँग नर्सिङ्ग अध्यापनको लाइसेन्स छ। अहिले १५ सैयाको अस्पताललाई १०० सैयामा विस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा छ। यससँगै नर्सिङ्ग कोर्ष सञ्चालनको तयारी तीव्र गतिमा भइरहेको छ।”
तीन वर्षअघि स्थापना भएको अस्पतालले निकट भविष्यमा एकेडेमी सञ्चालन र एम्बुलेन्स सेवा समेत सुरु गर्ने जनाएको छ। कञ्चनपुरमा झन्डै पाँच लाख जनसंख्या छ भने गत वर्ष मात्रै ११ हजार ३०१ जनाले एसईई परीक्षा दिएका थिए। नर्सिङ्ग शिक्षा नपाएर बाहिर जान बाध्य विद्यार्थीलाई मन्त्र अस्पतालको योजना राहत बन्ने विश्वास गरिएको छ।
यसैबीच, अस्पतालमा वैशाख २ गतेदेखि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रबि ढकालद्वारा सेवा सुरु गरिएको छ। उनले विशेष गरी बालबालिकामा देखिने कलेजो रोगको उपचार सुरु गरिसकेका छन्। स्वदेश तथा विदेशमा कार्य अनुभव भएका डा. ढकालले मन्त्र अस्पतालमा स्थायी रूपमा सेवा दिन थालेका हुन्।
हाल अस्पतालमा विशेषज्ञसहित ६५ जना स्वास्थ्यकर्मी कार्यरत छन्। अस्पतालमा मासिक रूपमा प्रमुख शल्यक्रियासमेत हुने गरेको र ओपीडीमा दैनिक २०० जना जति सेवाग्राही आउने गरेको मेडिकल डाइरेक्टर डा. रोकायाले बताए।
हाडजोर्नी, शल्यक्रिया लगायतका विविध सेवाहरू सञ्चालनमा रहेका छन्। अस्पतालले फुल टाइम र पार्ट टाइम चिकित्सकमार्फत विभिन्न रोगको सेवा दिइरहेको छ।
“हामी अझै जनविश्वास जित्न सकेका छैनौं, तर सेवा गुणस्तर सुधारमा निरन्तर लागिरहेका छौं,” डा. रोकायाले भने। बैंक तथा वित्तीय संस्थालाई ५ देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता तथा शिविरहरूमा निःशुल्क प्राथमिक उपचार सेवा दिइँदै आएको छ।
तीन वर्षदेखि सेवा दिँदै आएको मन्त्र अस्पतालले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर र विभिन्न संस्थासँगको सहकार्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अस्पताल स्थापनापछि भारत वा अन्य बाह्य स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता घटेको स्थानीय बिरामीका आफन्तहरू बताउँछन्।