हेमा भट्ट
वैशाख ३ धनगढी
फाप्ला क्रिकेट मैदानमा जारी टिम इलाभेन संस्कार क्रिकेट लिग अन्तर्गत बुधबारका खेलहरूमा क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कुल र नारायण स्पोर्ट क्लब विजयी भएका छन्।
पहिलो खेलमा क्याम्ब्रिज स्कुलले युथ अफ टीकापुरलाई ५ रनले पराजित गर्यो। टस जितेर पहिला ब्याटिङ गर्दै क्याम्ब्रिजले ९ विकेट गुमाएर १०४ रन बनायो। डम्बर माझीले ३४ र हेमन्त चौलागाईंले १५ रनको योगदान दिए। जवाफी ब्याटिङमा युथ अफ टीकापुर १०० रनमै समेटियो। क्याम्ब्रिजका हेमन्त चौलागाईंले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
दोस्रो खेलमा नारायण स्पोर्ट क्लबले राजपुर स्पोर्ट क्लबलाई ३१ रनले हरायो। नारायणले ८ विकेट गुमाएर १५५ रन बनाउँदा राहुल भण्डारीले ४८ रन बनाए। जवाफी ब्याटिङमा राजपुर क्लब ९ विकेट गुमाएर १२४ रनमै रोकियो। नारायणका राहुल भण्डारीले बलिङमा पनि ४ विकेट लिए र म्यान अफ द म्याच घोषित भए।
१३ टिम सहभागी प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ११ हजार १११ रुपैयाँ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। प्रतियोगिता संस्कार गुरुकुल मन्टेस्वरी विद्यालयको आयोजनामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।