अछामका आगलागी पीडितले पाएनन् राहत

वैशाख ६ धनगढी
अछामको पुरानो जयगढ बजार आगालागी पीडितले राहत पाउन सकेका छैनन् । चैत्र २६ गते २३ वटा घर र ती घरहरूमा सञ्चालित ३५ वटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भए पनि उनीहरुले अझै राहत पाउन नसकेका हुन ।

घटनालगत्तै प्रदेश सरकारका मन्त्रीहरू, राजनीतिक दलका नेता, जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरे । विभिन्न स्थानीय तहले पीडितलाई राहतस्वरूप रकम घोषणा पनि गरे । तर जयगढका आगलागी पीडितले भने राहतको महसुस गर्न पाएका छैनन् । गाउँपालिका अध्यक्ष टेकबहादुर साउदका अनुसार चैत २६ गतेको जयगढ आगलागीबाट भौतिक पूर्वाधारबाहेक करिब ८ करोड बराबरको धनमालको क्षति भएको छ ।

आफ्नो पक्की घरमा डोजर लगाइ भत्काउन दिएर जयगढ बजार जल्नबाट रोकेकी निर्मला रावल आफन्तको कोठामा सहयोग लिएर बसेकी छन् । उनी घरविहीन भएको शनिबार १४ दिन भइसकेको छ । तर उनले अझै राहत महसुस गर्न पाएकी छैनन् । सम्पत्तिको नाममा भएको एक घर, भाँडाकुडा, अन्नपात, गरगहना सबै जलेर खरानी भएपछि निर्मला घरविहीन भएकी छन् । १० वर्षअघि उनका श्रीमान्को हृदयघातका कारण मृत्यु भएको थियो । गाउँपालिकामा कार्यालय सहयोगीको जागिरबाट छोराछोरी पढाइरहेकी उनलाई जायजेथा सबै गुमेपछि सकस भएको छ । आगलागी भएको बेला सबै आएर आश्वासन मात्रै दिएको उनले बताइन् । ‘एकपछि अर्को नेतामन्त्री भेट्न आए । तर अहिलेसम्म राहत आएन,’ उनले भनिन् ।

जयगढ बजारको आगलागीबाट जायजेथा सबै गुमाएका व्यापारी खगेन्द्र साउदको परिवार पनि घरविहीन बनेको छ । स्थानीय तह, प्रहरीलगायतले संकलन गरेको विवरणमा साउदको मात्रै एक करोड बराबरको क्षति भएको आँकलन गरिएको छ । जयगढका मुख्य व्यापारीको रूपमा परिचित साउदको घर, गोदाम, पसल सबै जलेर नष्ट भयो । अहिले साउदको परिवार गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एक कोठामा १४ दिनदेखि बसिरहेको छ ।

आगलागीबाट पीडितलाई तत्काल राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ५० लाख उपलब्ध गराउने निर्णय भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

बान्नीगढी जयगढ गाउँपालिकामार्फत पीडितलाई दिने भनिएको राहत रकम अहिलेसम्म गाउँपालिकाले प्राप्त नगरेको अध्यक्ष साउदले बताए। ‘विभिन्न व्यक्ति, संघ–संस्थाबाट अहिलेसम्म करिब ४ लाख जति नगद सहयोग भएको छ । प्रदेश सरकारले दिने भनेको रकम आएको छैन । केन्द्र सरकारले अहिलेसम्म कुनै चासो दिएको छैन,’ अध्यक्ष साउदले भने, ‘पीडितलाई तत्कालका लागि खाद्यान्न राहत स्वरूप उपलब्ध गराएका छौं । बस्नका लागि अस्थायी टिनको टहरा बनाउने सल्लाह पनि हुँदैछ । दीर्घकालीन रूपमा के गर्ने भन्नेबारे ठोस निर्णय भइसकेको छैन ।’

आगलागीलगत्तै अछामका सबैजसो स्थानीय तहले राहत रकम घोषणा गरे तापनि शनिबारसम्म कतैबाट रकम नआइसकेको उनले बताए । घटनास्थलको अनुगमनका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आर्थिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पहिलो चरणमा अनुगमन गरेका थिए । दोस्रो चरणमा प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रबहादुर पालले समेत अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply