वैशाख ८ धनगढी
अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्ड विपरीत शुल्क लिने संस्थागत विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।
सोमबार अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै मापदण्ड विपरीत शुल्क लिने संस्थागत विद्यालय र सञ्चालकलाई कारबाही गर्न माग गरेको हो ।
प्रदेश अध्यक्ष बीरबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,–‘शैक्षिकसत्र २०८२ को सुरुवात सँगै सुदूरपश्चिम प्रदेशमा रहेका संस्थागत विद्यालयहरुले “संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२” विपरीत शुल्क असुल गरिरहेको देखिन आएको छ,यसका अतिरिक्त पाठ्यक्रमलाई मनोमानी ढंगले प्रत्येक वर्ष बदल्दै शैक्षिक गुणस्तरलाई भन्दापनि नाफालाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । यी र यस्ता हर्कतलाई अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति कुनैपनी हालतमा स्वीकार गर्न सक्दैन ।’
विज्ञप्तिमा भनिएको छ ‘छिटो भन्दा छिटो सम्बन्धित निकायले अनुगमन गरि यस्ता क्रियाकलापमा संलग्न निजी स्कुल र सञ्चालकलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न जोड्दार माग गर्दछौँ । अन्यथा अनेरास्ववियू ( क्रान्तिकारी ) सुदूरपश्चिम प्रदेश समितिले कार्वाही गर्ने चेतावनी दिन चाहान्छौँ । यसबाट निर्माण हुने परिस्थितिको जवाफदेही सम्बन्धित निकाय हुनुपर्नेछ ।’
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको पठनपाठनदेखि लिएर परीक्षा प्रणालीमा गरेको चरम लापरबाहीका कारण हजारौं विद्यार्थीहरुले दुःख पाइरहेका विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘समयमै जिम्मेवार हुन विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ’विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै,सरकारी विद्यालयका शिक्षकहरुको आन्दोलनलाई यथासिघ्र सम्वोधन गरि शिक्षकहरुलाई विद्यालयमा फर्काउने वातावरण तयार गर्न समेत माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुको भ्रष्टाचारको बदनियतपूर्ण अडियो काण्डमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई जोड्दार माग गर्दछौँ ।’