जेठ १ धनगढी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन् ।
यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको उनको भनाइ छ । सन्दीपले फेसबुक स्टाट्समा भनेका छन्, ‘यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।’
सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपाली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताएका छन् । उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने पनि उल्लेख गरेका छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको जानकारी दिएका छन् । सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने उनको भनाइ छ ।
ज्ञातव्य छ, सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश थिए । यो क्याटेगोरीमा समावेश खेलाडीहरुले क्यानबाट मासिक रू एक लाख प्राप्त गर्दै आएका छन् ।