रैकवार खबर दैनिक
कृष्णपुर, कञ्चनपुर –सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको ठाडी भाकालाई आफ्नो स्वरमार्फत जीवन्त बनाएकी एक अद्वितीय कलाकार हुन् डिक्रा बादी। संगीतको माध्यमबाट जनताको मन छुने मात्र नभई समाज परिवर्तनको अग्रसरता लिन सक्ने, एक प्रेरणादायी नाम हो – डिक्रा बादी।
बाल्यकालदेखि नै गीत–संगीतमा रमाएकी डिक्रा बादी आज कृष्णपुर नगरपालिका–२ की वडा सदस्य समेत रहेर समाजसेवामा सशक्त भूमिका निर्वाह गरिरहेकी छन्। कला र नेतृत्वको संगम भएर उभिएकी उनी साँचिकै बहुप्रतिभासम्पन्न छन्।
उनको स्वरमा गुञ्जिने “ठाडी भाका” श्रोताको हृदयको गहिराइसम्म पुग्छ। जनजीवन, पीडा, माया र संघर्षको सार समेटिएको उनका गीतहरू सुदूरपश्चिमको मौलिकता बोकेका छन्।
डिक्रा बादीको यात्रा केवल कलाकारको होइन, समाज र सत्ता दुबैलाई जोड्ने पुलजस्तै हो। वडासदस्यको भूमिकामा रहेर उनले सुकुम्बासी, दलित, महिला तथा बिपन्न वर्गको आवाज बनिरहेकी छन्।
हालै कृष्णपुर–२ वाणीमा सम्पन्न नेपाल–भारत काव्यगोष्ठी कार्यक्रममा जब उनी मञ्चमा उभिइन्, उनको दमदार प्रस्तुति र सामाजिक योगदानको चर्चा सँगसँगै गुञ्जियो। कार्यक्रमका प्रमुख आकर्षणमध्ये उनी एक थिइन्, र उपस्थित दर्शकहरूको आँखा रसाए, मन बग्यो।
संगीत मेरो आत्मा हो, समाजसेवा मेरो धर्म – डिक्रा बादी:उनको यो भनाइ शब्द मात्र होइन, जीवनको सार हो। एक आवाज जसले गाउँलेको पीडा गाएको छ, एक प्रतिनिधि जसले गाउँको विकासका लागि कहिल्यै पछि हटिन।
डिक्रा बादीको जीवनकथा एउटा नारीको सशक्त आवाज हो। कला र कर्तव्यलाई संगै बोकेर हिँड्न सक्ने यस्ता पात्रहरू आजको समाजका वास्तविक हिरो हुन्।