कञ्चनपुर, असार ९
पुनर्वास नगरपालिका–११ घर भई हाल धनगढी उपमहानगरपालिका–२, बैयावेहडीस्थित रुवस होटल नजिकै कोठामा बस्दै आएकी ३२ वर्षीया रेनुका चौधरी सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्।
धनगढी खानेपानी कार्यालयमा कार्यरत रेनुका चार दिनदेखि सम्पर्कविहीन थिइन्। स्थानीयले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी तथा आफन्त घटनास्थल पुगेका बेला कोठाको ढोका बाहिरबाट बन्द अवस्थामा रहेको थियो। जबर्जस्ती ताला फोडेर प्रवेश गर्दा रेनुका कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।
मृतकका पिता बलिराम चौधरीका अनुसार छोरीको टाउकोमा चोट देखिएको छ भने कोठा बाहिरबाट तालाबन्दी भएको अवस्था शंकास्पद देखिन्छ।
घटनास्थललाई ‘अपराध स्थल प्रवेश निषेध क्षेत्र’ घोषणा गर्दै प्रहरीले मुचुल्का तयार पार्ने र प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकका आफन्तजनले हत्या हुनसक्ने आशंका व्यक्त गरेका छन्।
हालसम्म घटनाको अन्तिम निष्कर्ष सार्वजनिक भइनसकेकोले सत्यतथ्य पत्ता लगाउन प्रहरीले निष्पक्ष र शीघ्र अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।