हेमा भट्ट असार १०, २०८२
कञ्चनपुर – कृष्णपुर नगरपालिका–०४ का २१३० जना अव्यवस्थित बसोबासीहरुले अब कानुनी रूपमा जग्गाधनी प्रमाणपत्र पाउने सुनिश्चित भएको छ। वडा अध्यक्ष धर्म बहादुर सिंहका अनुसार, लामो समयदेखि सरकारी, ऐलानी वा वन भूमिमा बसोबास गर्दै आएका बासिन्दालाई जग्गा वितरण प्रक्रिया सुरु गरिएको हो।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति कञ्चनपुरले ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै, कम्तीमा १० वर्षदेखि निरन्तर रुपमा घरटहरा बनाई बसोबास गरिरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने तयारी गरेको हो।
सूचना अनुसार, २०७६ माघ २८ पछि नेपाल सरकारले कुनै पनि प्रकारको जग्गा वा आवास नदिएका र न्यून आय भएका व्यक्तिहरूले सात दिनभित्र दाबी वा उजुरी गर्न सक्नेछन्। उजुरी वा दाबी परेमा २०८२ असार १६ गतेभित्र प्रमाणसहित जिल्ला समितिमा निवेदन दर्ता गर्न सकिनेछ।
नगर प्रमुख हेमराज ओझा र वडा अध्यक्ष सिंहको उपस्थितिमा अव्यवस्थित बसोबासीहरूको प्रमाणित विवरण आयोग अध्यक्ष नेत्र प्रकाश पन्तलाई हस्तान्तरण गरिएको छ।
वडा अध्यक्ष सिंहले भने,“अबको हाम्रो लक्ष्य वडा नं. ०४ का सबै अव्यवस्थित बासिन्दालाई कानुनी रूपमा जग्गाको मालिक बनाउनु हो।”
सूचना टाँस र जानकारीका लागि आग्रह सार्वजनिक सूचना अन्तर्गत सम्बन्धित विवरणसहितको सूचना निम्न सरकारी कार्यालयहरूमा टाँस गरिनेछ:
भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुर
नापी कार्यालय, महेन्द्रनगर कृष्णपुर नगरपालिकाको सम्बन्धित वडा कार्यालय
अव्यवस्थित बासोबासीको नामावली सि.नं. १ देखि २१३० सम्म प्रमाणित भइसकेको छ। उजुरी, संशोधन वा दाबी परेमा सात दिनभित्र जिल्ला समितिमा निवेदन दिन सबैमा अनुरोध गरिएको छ।नोट: प्रकाशित सूचना प्रति सम्बन्धित वडा कार्यालय र जिल्ला समितिमा पनि अवलोकन गर्न सकिनेछ।