हेमा भट्ट असार ११, २०८२
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थारु समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच दिलाउने उद्देश्यसहित नयाँ ‘लबरु रानाथारु छात्रवृत्ति कार्यक्रम’ घोषणा गरेको छ।
नगर प्रमुख हेमराज ओझाका अनुसार, आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेटमार्फत यो छात्रवृत्ति कार्यक्रम लागू गरिने भएको हो। यस कार्यक्रममार्फत आर्थिक अभावका कारण विद्यालय बीचमै छाड्न बाध्य थारु समुदायका विद्यार्थीहरूलाई निरन्तर अध्ययन गर्न सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
लबरु रानाको योगदानको सम्मानमा छात्रवृत्ति
मेयर ओझाले जानकारी दिएअनुसार, पञ्चायतकालीन समाजसेवी तथा मन्त्री लबरु रानाको योगदानको स्मरणमा यो छात्रवृत्ति कार्यक्रम ल्याइएको हो। नगरका ९ वटै वडामा थारु समुदायको वासोबास रहेकाले लक्षित रूपमा यो कार्यक्रम थालिएको हो।
नयाँ शैक्षिक सत्रदेखि नगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गराउने निर्णय लिएको छ। यसबाट सार्वजनिक शिक्षामा विश्वास र गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ।
मेयर ओझाले आगामी वर्षका लागि दर्जनौँ नयाँ कार्यक्रमसहित १ अर्ब १ करोड ११ लाख ८२ हजार ४५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। यहाँ केही प्रमुख कार्यक्रमहरूको विवरण:
कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना
१५ सैयाको नगर अस्पताल निर्माणको ठेक्का प्रक्रिया अघि बढाइने
दमकल र शववाहन खरिद गरिने
सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिने
दिवा तथा रात्रीकालीन छात्रावासको सञ्चालन प्रदेशस्तरीय टेक्निकल इन्स्टिच्युट ७ नम्बर वडामा कोरियाली सहयोगमा स्थापना
वडा नं २ र ५ को मोहना चोकमा कोल्ड स्टोर स्थापना
कृषि एम्बुलेन्सको व्यवस्था
नगरका ३ स्थानमा रङ्गशाला निर्माणको ठेक्का प्रक्रिया सुरु
खेलकुद र सम्मान:ओलम्पियन दीपक विष्टलाई सद्भावना दूत घोषणा
आन्तरिक स्रोत ८ करोड
संघीय वित्तीय समानीकरण १५ करोड १९ लाख
प्रदेश वित्तीय समानीकरण १ करोड ४९ लाख १३ हजार
संघीय राजस्व बाँडफाँड १५ करोड ३० लाख ९३ हजार
प्रदेश राजस्व बाँडफाँड ४७ लाख २१ हजार
सामाजिक सुरक्षा २५ करोड
सशर्त अनुदान १ करोड ९६ लाख ५५ हजार
संघीय समपूरक अनुदान ८३ लाख
प्रदेश समपूरक अनुदान २ करोड १० लाख
संघीय विशेष अनुदान ४ करोड ५५ लाख
प्रदेश विशेष अनुदान १ करोड ९६ लाख ५५ हजार
कुल बजेट १ अर्ब १ करोड ११ लाख ८२ हजार ४५१
मेयर ओझाले कृष्णपुर नगरलाई शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा सशक्त रूपमा अघि बढाउने संकल्प व्यक्त गर्दै, प्रस्तुत बजेट र कार्यक्रम कार्यान्वयनमार्फत नगर समृद्ध बनाउने अठोट दोहोर्याए।