असार १२ धनगढी
प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोक र धनगढी वडा नं –३ विशालनगरबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३४ हजार ७ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
उक्त मूल्यका भन्सार चिनी, चप्पल बनाउने फित्ता, चप्पलमा लगाउने सितारा, प्लाष्टिक डोरी, विभिन्न किसिमका कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी बजार र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख १४ हजार ५४० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका मोबाईलका पार्टपुर्जा, वोईलर कुखुरा, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।