लागू औषध तथा लागुपदार्थ दुरुपयोग विरुद्ध बैजनाथ बाल क्लबको चेतनामूलक र्‍याली

कृष्णपुर, असार १२
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नम्बर १ को आर्थिक सहयोगमा लागू औषध तथा लागुपदार्थ दुरुपयोग विरुद्धको चेतनामूलक र्‍याली सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आयोजना गरिएको र्‍याली राधाकृष्ण मन्दिर दोमिल्लाबाट सुरु भई पहरिया वडा कार्यालयमा पुगेर समापन भएको थियो। झण्डै ४ किलोमिटर लामो उक्त र्‍यालीमा वडा नं. १ का जनप्रतिनिधिहरू, अस्थायी प्रहरी चौकी पहरियाका प्रतिनिधिहरू, शिक्षक तथा विभिन्न विद्यालयका बाल क्लब पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा ८२ जना बालबालिकासहित १०–१५ जना संस्थाका कर्मचारी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको क्लबका कोषाध्यक्ष वासुदेव पाण्ड्यले जानकारी गराए।

र्‍यालीमा क्लबका अध्यक्ष मिना धामी, उपाध्यक्ष अम्बादत्त जोशी, सचिव अस्मिता कुँवर तथा कोषाध्यक्ष वासुदेव पाण्ड्येले संयोजन तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। भोलि (असार १३) बिहान ७ बजे कालिका मावि, बन्डबाट अर्को चरणको र्‍याली सुरु भई बंक हुँदै पुनः वडा कार्यालयमै समापन गरिने कार्यक्रम तय गरिएको छ।

बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत ‘स्वास्थ्य जीवनशैली अपनाऔँ, लागू पदार्थबाट टाढा रहौँ’, ‘नशा बेच्ने समाज कस्तो लाज?’, ‘लागू पदार्थ: युवाको भविष्यको खतरा’ जस्ता नारासहित विभिन्न टोल, चौराहा, पसल क्षेत्र हुँदै जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।

स्थानीय समाजसेवीहरूले पनि कार्यक्रमप्रति सहयोगात्मक भावना व्यक्त गर्दै युवा शक्तिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन राज्य र सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्। “युवा देशको गहना हुन्, उनीहरूलाई प्राथमिकतासाथ जिम्मेवारीबोध गराउनु अहिलेको आवश्यकता हो,” कार्यक्रमका सहभागीहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply