१३ असार २०८२
कञ्चनपुरका पूर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा विविध सामाजिक कार्य गर्दै उदाहरणीय पहल प्रस्तुत गरेका छन्। अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व नेता समेत रहेका भट्टले असार १३ गते आफ्नो जन्मदिनलाई समाजसेवामार्फत् अर्थपूर्ण बनाउँदै क्यान्सर पीडित, अनाथ तथा असहाय नागरिकहरूसम्म सहयोग पु-याएका हुन्।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगरका पूर्व विद्यार्थी एवम् हाल क्यान्सर रोगबाट पीडित जमनसिंह कार्कीको उपचारका लागि भट्टले नगद ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आर्थिक अभावका कारण शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेका कार्कीले सहयोगका लागि अपिल गरेका थिए। सो समाचार देखेपछि विद्यार्थी जीवनमा कार्कीसँगै अध्ययन गरेका भट्टले मानवियताका आधारमा सहयोग गरेका हुन्।
त्यसैगरी, भट्टले काठमाडौँस्थित गोकर्णेश्वर–८ मा रहेको नेपाल महिला तथा बाल सेवा समाज मा आश्रित अनाथ बालबालिका र हिंसाबाट प्रभावित महिलाहरूको आहारोपचारका लागि झण्डै ७ हजार रुपैयाँ बराबरको दाल, तेल, अण्डालगायतका खाद्य सामग्री प्रदान गरेका छन्।
भीमदत्त नगरपालिका–२, उल्टाखाम महेन्द्रनगरका स्थायी बासिन्दा एवम् माओवादी केन्द्रका युवा नेता तथा अधिवक्ता समेत रहेका भट्टले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीदेखि अहिले सम्म निरन्तर जेहेन्दार विद्यार्थी, अशक्त, बिरामी तथा संकटमा परेका नागरिकहरूलाई नगद, स्टेशनरी, औषधोपचार सामग्री तथा खाद्यान्न सहयोग गर्दै आएका छन्।
भट्टले जन्मदिनको अवसरमा अनावश्यक खर्च नगरी त्यसलाई समाजको दुःखी र पिडित वर्गको सेवामा लगाउनु अहिलेको आवश्यकता भएको बताए। “खुसी बाँड्दा दोब्बर हुन्छ,” भट्टले भने, “सामाजिक काम नै मेरो साँचो उत्सव हो।”
उनको यस्ता कार्य समाजिक क्षेत्रका व्यक्तित्वहरूबाट पनि प्रशंसा पाइरहेको छ। भट्टद्वारा गरिएको सहयोगले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाएको बताइएको छ।