गणेश क्षेत्री / टीकापुर, असार १५
टीकापुर नगरपालिका वडा नं. ८ मा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ। “धान बालिमा सघनता : खाद्य सुरक्षा तथा आत्मनिर्भरता” भन्ने नाराका साथ मनाइएको उक्त कार्यक्रममा असार १५ को विशेष दिनलाई अवसर मानेर दही-चिउरा खाँदै करिब १० कट्ठा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपाइँ गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष दृघबहादुर ठकुल्लाले “अब मुठी रोपेर मानो फलाउने समय आएको छ,” भन्दै कृषि क्रान्तिको आवश्यकता औंल्याउनुभयो। उहाँले कृषकहरूलाई आधुनिक उपकरणको सहायताले खेतिप्रति आकर्षित गर्नुपर्ने बताउँदै युवा पुस्तालाई समेत कृषि क्षेत्रमा समेट्नुपर्ने धारणा राख्नुभयो।
ठकुल्लाले समयमा खाद, मल र बीउबिजनको आपूर्तिको सुनिश्चितता गर्नुपर्ने बताउँदै उत्पादन भएको अन्नलाई सरकारले किन्न ग्यारेन्टी गर्न सके वैदेशिक रोजगारीतर्फ जाने युवाको संख्या घट्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय कृषक, पत्रकार, वडा कार्यालयका कर्मचारी, सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको संयोजन शान्ति टोल विकास संस्था, कमल गाउँले गरेको थियो भने आयोजक टीकापुर नगरपालिका वडा नं. ८ रहेको थियो।