अषाढ १८ गते धनगढी
सांसद रमेशसिंह धामीको आरोप : ‘बोरामा पैसा देख्ने मान्छे छन्’
कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री रमेशसिंह धामीले बजेट निर्माणमा गम्भीर आर्थिक चलखेल भएको आरोप लगाउँदै सो बजेटलाई असफल गराउन सरकारलाई आग्रह गरेका छन्।
प्रदेश सभाको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद धामीले बजेट प्रक्रियामा पारदर्शिता नदेखिएको, नीति तथा कार्यक्रमअनुसार बजेट नआएको, र सत्तारुढ दलभित्रै अन्तरद्वन्द्व चर्किएको उल्लेख गरे।
“सरकार नढाल्नुस्, बजेट फेल गर्नुस्,” धामीले भने, “बोरामा पैसा देख्ने मान्छे छन्। मन्त्रालय बदल्नुस्, एक महिना हेर्नुस्, कसको घर घेरिन्छ, सामाजिक सञ्जालमा को-को आउँछन्।”
उनले बजेट निर्माणमा कांग्रेस र एमालेबीचको लुकेको टकराव स्पष्ट भएको पनि उल्लेख गरे। माओवादी विपक्षी दल भए तापनि सदन बहिस्कार नगरी जिम्मेवार भूमिका निर्वाह गरेको उनले बताए।
सांसद धामीले दीर्घकालीन योजनाहरूलाई बेवास्ता गर्दै सरकारले प्रतीकात्मक रूपमा न्यून बजेट छुट्याएकोप्रति पनि आपत्ति जनाए।
“हामी किन जनतामुखी बन्न सकेनौँ, यो गम्भीर प्रश्न हो,” धामीले भने, “बजेट फेल हुँदा नै अनियमितता सतहमा आउँछ।”
प्रदेश सभामा बजेट पारित गर्ने वा अस्वीकृत गर्ने बहस चलिरहँदा धामीको यस्तो स्पष्ट र आक्रोशपूर्ण अभिव्यक्तिले सुदूरपश्चिमको राजनीतिमा नयाँ तरंग ल्याएको छ।