कृष्णपुर, असार १८ गते
धनगढी –कृष्णपुर नगरपालिका–१ मा रहेको श्री बैजनाथ बाल क्लबले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ।
वडा नं. १ को आर्थिक सहयोगमा क्लबले आयोजना गरेको उक्त कार्यक्रम आज सम्पन्न भएको हो।
क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयका अनुसार अनाथालयमा रहेका २१ जना बालबालिकालाई लक्षित गर्दै करिब १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो। “बालबालिकाको हकहितमा काम गर्ने उद्देश्यले हामीले यो सानो प्रयास गरेका हौं,” उनले बताए।
उक्त कार्यक्रममा बैजनाथ बाल क्लबका चार जना प्रतिनिधि, वडा नं. १ का एक जना वडा सदस्य र नेपाल नेसनल सोशल वेलफेयर एसोसिएसन (NNSWA) का एक जना कर्मचारी सहभागी थिए।
कृष्णपुर नगरपालिका वडा नं. १ बालबालिका सम्बन्धी क्षेत्रमा विगतदेखि नै क्रियाशील रहँदै आएको छ। वडाले बालमैत्री समाज निर्माणका लागि चेतनामूलक कार्यक्रम, बालअधिकार प्रवर्द्धन तथा शैक्षिक सामग्री वितरणजस्ता विविध गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
श्री बैजनाथ बाल क्लबले समय–समयमा समाजसेवामूलक कार्य गर्दै आएको छ। क्लबका पदाधिकारीहरूका अनुसार आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ।
स्थानीयस्तरबाट बालबालिकाको हितमा गरिएको यस प्रकारको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवामा सामाजिक सेवाप्रतिको चेतना विकासमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।