हेमा भट्ट १९ असार २०८२
कञ्चनपुर – एनएमबी बैंक लिमिटेड र महेन्द्रनगरस्थित मन्त्र अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी समझदारी (MoU) पत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार एनएमबी बैंकका भिषा कार्डधारक ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट प्राप्त गर्ने भएका छन्।
सम्झौतामा दुवै पक्षले स्वास्थ्य सेवा र बैंकिङ सेवा क्षेत्रको परस्पर सहयोगमार्फत ग्राहक लाभदायक सेवा दिन सकिने विश्वास व्यक्त गरेका छन्।
सम्झौताअनुसार निम्न छुट व्यवस्था लागू हुनेछ:
परामर्श ओपीडी, आपतकालीन सेवा तथा शल्यक्रियापछि कोठा शुल्कमा २५% छुट
सामान्य बेड, ICU तथा NICU मा दैनिक शुल्कमा १५% छुट
सामान्य शल्यक्रिया, अर्थोपेडिक, ईएनटी र स्त्रीरोग शल्यक्रियामा ७%–१०% छुट
प्याथोलोजी, भिडियो एक्सरे, ईसीजी, इको, एन्डोस्कोपी, एनपीएल सेवामा १०% छुट
फार्मेसी सेवामा ५% छुट रहने जानकारी गराए ।
एनएमबी बैंकका ग्राहक तथा कर्मचारीले छुटको लागि आफ्नो कार्ड वा परिचयपत्र देखाउनुपर्नेछ। सम्झौता १ वर्षको लागि मान्य हुनेछ भने दुवै पक्षको सहमतिमा समयावधि थप गर्न सकिनेछ।
सम्झौतामा एनएमबी बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख बिरु राम जैशी, एरिया म्यानेजर सुशील बहादुर सिंह, मेडिकल निर्देशक डा. गोविन्द रोकाया, अस्पताल अध्यक्ष कैलाश चन्द्र भट्ट, र बोर्ड सदस्य अभिषेक कार्की लगायतका प्रतिनिधिको उपस्थिति थियो।
बैंकले ग्राहकलाई योजना सम्बन्धी जानकारी दिन आफ्नो वेबसाइट र प्रचार सामग्रीमार्फत प्रचार गर्ने जनाएको छ। यस समझदारीले बैंक र अस्पतालबीचको सहकार्यलाई सुदृढ बनाउने तथा ग्राहक–सेवा सन्तुष्टि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।