शहरमा शौचालयको समस्या: सौन्दर्य मात्रै हैन, सरसफाइ पनि जरुरी

हेमा भट्ट २२ असार २०८२
कञ्चनपुर —”शहरमा त शिक्षित र सचेत मानिस बस्छन्,” भन्ने भनाइ सायद अब पुनर्विचार गर्नुपर्ने बेला आएको छ। यो भनाइलाई चुनौती दिने एउटा उदाहरण हो — कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका अन्तर्गत कलुवापुर बजार नजिकको सार्वजनिक शौचालयको दयनीय अवस्था।

बजार सुन्दर, तर…कलुवापुर बजार दिनानुदिन ब्यवस्थित हुँदै गएको छ। व्यवसायिक चहलपहल, रंगरोगन र संरचनागत विकासले बजारलाई सुन्दरता दिएको छ। तर त्यसै बजारको भित्री भागमा रहेको सार्वजनिक शौचालय हेर्दा त्यो सुन्दरतामा ठूलो दाग लाग्ने देखिन्छ। फोहोर, दुर्गन्ध र सरसफाइको चरम अभावका कारण त्यहाँ जानु यातना झेल्नुसरह बनेको छ।

सरोकारवालाको बेवास्ता
स्थानीय तह शुक्लाफाँटा नगरपालिकाका जिम्मेवार निकायहरू यो समस्याप्रति आँखा चिम्लिएको देखिन्छ। सार्वजनिक शौचालयजस्तो आधारभूत आवश्यकता उपेक्षित हुँदा जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिन्छ। बजारमा दैनिक सयौं मानिसको आवागमन हुन्छ तर शौचालयको यस्तो अवस्था देख्दा नगरको समग्र योजना र प्राथमिकताको झल्को मिल्दैन।

सार्वजनिक स्वास्थ्यमा खतरा
स्वच्छता र सरसफाइको अभावले हैजा, झाडापखाला, स्किन इन्फेक्सन जस्ता रोग फैलन सक्छन्। शिक्षित भनिने समुदायको बीचमै यस्तो अवस्था हुनु आफैँमा लज्जास्पद हो।

शहर सुन्दर बनाउने नाममा रंगीन बत्ती र सिसाका घर मात्रै हैन, सफा शौचालय र स्वस्थ वातावरण पनि उत्तिकै आवश्यक छ। नगरपालिकाले बजार सौन्दर्यीकरणसँगै स्वच्छता र जनस्वास्थ्यप्रति पनि गम्भीर ध्यान दिनु जरुरी छ। आखिर, शहरको सभ्यता त्यहाँको शौचालयबाट चिनिन्छ भन्ने कुरा आज पनि उत्तिकै सान्दर्भिक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply