उग्रता सामुदायिक वनको हरियाली अभियान: एक घर एक विरुवा, एक रुख एक एसी बराबर

हेमा भट्ट २४ असार २०८२
कृष्णपुर नगरपालिका–७ स्थित श्री उग्रता सामुदायिक वन उपभोक्ता समूहद्वारा “भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौं” भन्ने मूल नाराका साथ घरदैलोमै पुगेर निःशुल्क बोट विरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत सामुदायिक वनका अध्यक्ष मदन राना स्वयं उपभोक्ताको घरघरमा ट्याक्टरमार्फत विरुवा पुर्‍याउँदै वृक्षारोपण गर्न प्रेरित गर्नुभएको हो।

पिपरिया सब-डिभिजनको समन्वयमा आयोजित यस अभियानमा वृक्षारोपणका फाइदा र वातावरणीय सन्तुलनका विषयमा सुझाव र सल्लाह समेत प्रदान गरिएको थियो। अध्यक्ष रानाले एक रुखलाई एसी (AC) बराबरको महत्व रहेको बताउँदै अहिलेको जलवायु संकटलाई ध्यानमा राख्दै वृक्षारोपण अपरिहार्य भएको प्रस्ट पार्नुभयो।

उहाँले वितरण कार्यमा संलग्न सम्पूर्ण सहयोगी टिम, उपभोक्ता, र सब-डिभिजन कार्यालयप्रति आभार व्यक्त गर्दै, वातावरणीय संरक्षणमा सामुदायिक वनको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।

स्थानीय बासिन्दाहरूले यस्तो कार्यक्रमले वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गरेको भन्दै प्रशंसा गरेका छन्। उनीहरूले भने, “घरमै बोट विरुवा ल्याइदिएर वृक्षारोपणमा प्रेरित गर्नु वास्तवमै उदाहरणीय र सान्दर्भिक कार्य हो।”

उग्रता सामुदायिक वन क्षेत्र अहिले साल, असना लगायतका जातका रुखले हरियालीले ढकमक्क भएको छ। वितरण गरिएको विरुवाले आगामी दिनमा वनलाई झनै हराभरा बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा समुदायका सरोकारवाला, उपभोक्ता समूहका सदस्य, तथा वातावरणप्रेमीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले “वन नै जीवन हो” भन्ने सन्देश बोकेर अभियानलाई सफल बनाएकोमा गर्व व्यक्त गरेका छन्।

वृक्षारोपण अभियानको निरन्तरताका लागि सामुदायिक वनले आगामी दिनमा थप प्रशिक्षण तथा सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने योजना बनाएको जानकारी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply