असार २७ धनगढी
कैलालीको धनगढी उपमहानगरपािलका–३ चटकपुरमा रहेको गौ संरक्षण सेवा समितिले गड्यौला र गोठेमल उत्पादन गरी बिक्री वितरण गर्न सुरु गरेको छ ।
गाईबाट उत्पादन भएको गोठेमल र गड्यौला मल उत्पादन गरी मासिक २० हजारमा बिक्री वितरण गर्न सुरु गरेको हो । २०७४ सालमा छाडा छोडिएको १ गाईबाट सुरु गरेको गौशालाले अहिले १४३ गाईपालन गरेको छ । सोही गाईहरुको मलमुत्र संकलन गरी गड्यौला र गोठेमल उत्पादन गर्दै गरेको गौशाला व्यवस्थापक रीता अवस्थीले बताइन् ।
उत्पादिन मल कृषकलाई बेच्ने गरेको उनले बताइन् । गड्यौला मल प्रतिकिलो ४० रुपैयाँ र गोठेमल प्रति ट्रली ४ हजारमा बेच्ने गरेको उनले बताइन् । कुनै कृषकले पराल, भुषावाट पनि साटेर मल लिने गरेको उनले बताइन् ।
उनले शुद्ध दूध प्रत्येक दिन ३२ लिटर बेच्ने गरेको बताइन् । ‘दूध स्वच्छ हुन्छ, एक थोपा पानी हुँदैन’ उनले भनिन् ‘प्रतिलिटर रु ९० मा बेच्छौँ । मासिक ८६ हजार ४ सय हुन आउँछ ।’
दूध बढी नजिकमै बेच्ने गरेको र केही टाढाका ग्राहलाई गौशालाका कर्मचारीले पु¥याउने गरेको उनले बताइन् । गौदानबाट मासिक ३० हजार हुने उनले बताइन् । उनले भनिन् ‘पूजा कन्यादानका लागि बाच्छा लिन चाहनेलाई पछि फिर्ता गर्ने सर्तमा एक हजार एक सय र गाई र बाच्छाको सेटलाई तीन हजार एक सय रुपैयाँमा पर्दछ । सहयोग पनि हुन्छ ।’
धनगढी उपमहानगरपालिका र भेटेरिनरीबाट गाईहरुका लागि चाहिने आवश्यक बस्तु कहिले काँही सहयोग आउने गरेको उनले बताइन् । कसैले बर्थडेमा वा स्वस्फुर्त रुपमा स्थानीयले सहयोग पनि गर्ने गरेको उनले बताइन् । उनले आम्दानी कम र खर्च बढी हुने गरेको बताइन् । उनले भनिन् ‘आम्दानी कम छ,५ जना कर्मचारी राखेका छौँ ४ जनालाई १२ हजार र अन्य एक जनालाई १० हजारका दरले तलब दिएको छौँ ।’
वातावरण दिवस या अन्य शुभ दिनमा मानिसहरुले गौशालालाई सहयोग गर्ने गरेको उनको भनाइ छ । गाईको खानका लागि भुसा पराल,नवीनदाना,ढुटो,चोकरआदि आवश्यक पर्ने गरेको उनले बताइन् । गाईबाट पौने दुई लाखको उत्पादन हुने र खर्च साढे ३ लाख हुने गरेको उनले बताइन् ।
उपमहानगरपालिका र भेटेरिनरीले सहयोग गर्ने गरेको र अन्य सरकारी निकाय कसैले पनि सहयोग नगरेको उनको भनाइ छ । उनले भनिन् ‘यो एक शुद्ध परोपकार हो । हामीले गाईको संरक्षण गर्न,छाडागाइलाई व्यवस्थित गर्न गौशाला निर्माण गरेका हौँ ।’
छाडा चौपायका कारण सडक दुर्घटनाको जोखिम हुने र नागरिकले लगाउने धानबाली, तरकारीलगाएतका चिजहरुलाई नोक्सान गरिदिने जस्ता जोखिमको पनि कम गर्न गौशाला अनिवार्य देखिएअनुसार गाईपालन गरेको उनको भनाइ छ । यो कार्यका लागि सरकारको ध्यान जान जरुरी रहेको उनले बताइन् । साभार निशाना न्युज