सरस्वती सुनार
राजघाट- एक सामूहिक स्मरण – राजघाट, पिपरिया, घोडाघाटका जनताको तर्फबाट!
एक समय थियो—राजघाट, घोडाघाट र पिपरिया क्षेत्रबाट धनगढी पुग्नु आफैँमा ठूलो संघर्ष थियो। साँघुरो बाटो, हिलो, धुलो, खाल्डाखुल्डी, अनि मोहनानदीको वेग—यी सबै पार गर्दै विद्यार्थी, सर्वसाधारण धनगढी जान बाध्य थिए। नदी पार गर्दा कम्मरदेखि कन्धासम्म भिज्ने, चप्पल हातमा समातेर खाली खुट्टामा हिँड्ने बाध्यता आज पनि धेरैको सम्झनामा ताजा छ।
पढ्न जानु थियो संघर्ष, फर्कनु थियो पीडा
धनगढीमा पढ्न जाने विद्यार्थीहरूका लागि यो यात्रा सजिलो थिएन। कहिलेकाहीँ परीक्षा छुट्ने पीडादायी पलहरू अझै स्मृतिमा छन्। नदी किनारको लेदो, डुङ्गासम्म पुग्नको झन्झट, बाइक वा साइकल राख्ने ठाउँको अभाव, अनि काठेपुल तर्नुपर्ने बाध्यता—यी सबै दुःख आज पनि भुल्न सकिने छैनन्।
आजको ७ मिनेटको यात्रा: जनताको पहल र गणतन्त्रको उपलब्धि!
समय बदलिँदै गयो, जनताको सोच र सँगै सरकारले ल्याएको गणतान्त्रिक परिवर्तनले यी दुःखद पलहरूलाई सहजतामा रूपान्तरण गरिदियो। सबैको पहल, सहयोग र सामूहिक प्रयासले गर्दा आज राजघाटदेखि धनगढीसम्मको दूरी अब केवल ७ मिनेटको यात्रा बनिसकेको छ।
स्थानीय तह र दाताहरूप्रति आभार
आजको यो परिवर्तन सम्भव बनाउन जो-जो लागिपरे—तिनीहरू सबैप्रति राजघाट, पिपरिया, घोडाघाटका जनताहरूको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ।
विगत भुले पनि पीडा भुलिँदैन!
आज हामी सहज यात्रामा रमाइरहेका छौं, तर ती हिँडाइका कठिन पाइलाहरू कहिल्यै विर्सन सकिँदैनौं। धनगढी–राजघाट सम्बन्धको यो विकास केवल पूर्वाधारको कथा मात्र होइन, यो यहाँका जनताको संघर्ष, आशा र संकल्पको गाथा हो।
राजघाट–पिपरियाका जनताको स्मृतिमा आज पनि ती दिनहरू ताजै छन्—जब मोहनानदी पार गर्नु युद्ध जस्तै थियो।
कतिपय डुबेर ज्यान गुमाए, कसैको साइकल बग्यो, कसैको दूधको डब्बा, पसलका सामान, बजार लैजाँदै गरेको अन्न—सबै बगायो नदीले। किसानहरूका गोरु बगाए, धान, गहुँ बगायो। पसिना बगाएर उब्जाएको अन्न पानीसँगै डुब्दा आँखाबाट आँसु बग्नु स्वाभाविक थियो।
त्यो केवल नदी पार गर्ने यात्रा थिएन—त्यो संघर्ष थियो, पीडा थियो, बाध्यता थियो।
अहिले ७ मिनेटमा पुगिने धनगढी, त्यतिबेला घण्टौंको हिंडाइ थियो। सुख होइन, केवल पिर र प्रतिक्षा थियो।
तर आज…
आज समय फेरिएको छ।
जनताको पहल, सरकारको ध्यान, अनि साझा प्रयासले त्यो विगत भुल्न सकिने नभए पनि, वर्तमान सहज बनिसकेको छ।
तर ती “दुखका दिन” भने कहिल्यै भुलिने छैनन्—स्मृति बनेर, संघर्षको इतिहास बनेर सधैं रहिरहनेछ।
कुनै समय थियो, मोहना नदीको नाम लिनासाथै गाउँ–घरभरि एक किसिमको डर, पीडा र सतर्कता फैलिन्थ्यो। त्यो केवल एउटा नदी थिएन—त्यो बाधा थियो, कहिलेकाहीँ मृत्युको डिल थियो।
धेरै विद्यार्थीहरू बिहानै नुहाई–धोई किताब बोकेर घरबाट निस्कन्थे। तर मोहना नदीमा पानीको सतह बढेको खबरले सिंगो सपना ओभालिन्थ्यो। कतिले नदी पार गर्न नसकेर परीक्षा छुटाए, कतिले आँसु पिउँदै फर्किनुपर्यो।
कसैको साइकल बगायो, कसैको दूधको डब्बा मोहना लहरसँगै बगेर हरायो। किसानहरू धान बेच्न निस्कन्थे—तर मोहनाले पसिनासँगै बगाएर लग्थ्यो। पसलमा लैजाने सामान हराएर रातभरि रोएका अनुहारहरू आज पनि हाम्रो सम्झनामा छाप छन्।
कहिले डुङ्गा खोज्न पाइन्थेन, पाइए पनि पानीको बेगले डुङ्गा फर्काउने डर। काठे पुल बने, केही सहजता आयो, तर पुल पार गर्दा पनि मनमा आशंका हुन्थ्यो—“कहिल्यै के हुन्छ?” भनेर। त्यतिबेला एउटा बाटो बनाउन सबैले सहयोग उठाए, श्रमदान गरे—तर सुविधाभन्दा बढी संघर्षकै छाया थियो।
पीडाका दिनहरू यत्तिमै सीमित थिएनन्। धेरैले मोहनाको भेलमा आफ्नो ज्यान गुमाए। खोइ, ती समाचारमा पुगेनन्, इतिहासमा लेखिएनन्, तर जनताको मुटुमा ती कहिल्यै अमिट छन्।
आज मोहनाको किनारमा बाटो बनेको छ। पुल बनेको छ। बग्ने वस्तुहरू सुरक्षित छन्। विद्यार्थी समयमै परीक्षा दिन पुग्छन्। किसानहरू मोटरसाइकल चढेर बजार पुग्छन्।
धनगढी ७ मिनेटमा पुगिन्छ—यात्रा होइन, सुविधा जस्तै भएको छ।
तर,
त्यो मोहना आज पनि बोल्छ—
“म त उही हुँ, तिमीहरूको विगतको साक्षी।
तिमीहरू बिर्सियौ होला, तर म बिर्सिन सक्दिन ती आँसु, ती संघर्ष, ती चप्पल समाएर हिँड्ने खुट्टा…”
मोहना नदी – पीडाको एउटा नाम, परिवर्तनको एउटा साक्षी। स्मृतिमा ताजै छौं हामी – तिमी र हामी सबै ।