छाउपडी गोठ भत्काउने अल्टिमेटम : कृष्णपुर नगरको साहसी कदम

हेमा भट्ट / कञ्चनपुर, असार ३०
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र सबै वडामा रहेका छाउपडी गोठ भत्काउन निर्देशन दिएको छ। सामाजिक कुरीति अन्त्य गर्ने उद्देश्यले गरिएको यो निर्णयलाई स्थानीयवासी र सरोकारवाला पक्षले स्वागत गरेका छन्।

नगरपालिकाको निर्णय अनुसार, तोकिएको समयमा छाउगोठ नहटाउने व्यक्तिमाथि रु. १०,००० जरिवाना तथा कानुनी कारबाही गरिने छ।

नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले छाउपडी अन्त्यका लागि यो निर्णय गरेको हो। प्रमुख ओझाले भने, “छाउपडीजस्तो अमानवीय र हिंसात्मक प्रथा अन्त्य नगरी समतामूलक समाज सम्भव छैन। यसका लागि नगरपालिकाले कडा नीति अवलम्बन गर्नेछ।”

महिनावारीलाई अशुद्ध ठानी महिलालाई अलग राख्ने, गोठमा बस्न बाध्य बनाउनेजस्ता परम्पराले महिलाको स्वास्थ्य, आत्मसम्मान र मानवअधिकारमाथि गम्भीर असर पार्ने विज्ञहरूको भनाइ छ।

यस्तो अवस्थामा कृष्णपुरको निर्णयले केवल कानुनी कार्यान्वयन मात्र नभई, सामाजिक चेतनामा समेत ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ।

स्थानीय वडाध्यक्ष, शिक्षक, महिला समूह र युवाहरुले पनि नगरपालिकाको निर्णयको समर्थन गर्दै गोठ हटाउने अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन्।

कठोर कानून र सामाजिक सचेतनाको संयोजन नै यस्तो कुरीति अन्त्यको मूल उपाय हो भन्नेमा सबै एकमत देखिएका छन्।

नगरपालिकाले आगामी दिनमा जनचेतना कार्यक्रम, घर-घर अभियान, विद्यालयस्तरीय छलफल लगायतका माध्यमबाट जनस्तरसम्म सन्देश पुर्‍याउने तयारी गरेको छ।

छाउपडीजस्तो हिंसात्मक परम्पराविरुद्ध राज्यका सबै तहले एकजुट भएर उभिनु आवश्यक छ। कृष्णपुरको यो साहसी निर्णय देशभरका स्थानीय तहका लागि प्रेरणादायी बन्न सक्छ—शर्त के हो भने, यसमा सबैको सहभागिता र इमानदारीपूर्ण कार्यान्वयन होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply