मनिसा सुनार ११ साउन २०८१
कञ्चनपुर, कृष्णपुर –देशले गणतन्त्र पायो, समाजले विकास देख्यो, बाटाघाटा पिच भए, बत्तियाँ शहरझैँ टल्किन थाले—तर कृष्णपुर नगरपालिका अन्तर्गत साबिकको रैकवार विचवाका किसानहरू अझै अन्धकारमै छन्।
तीन दशक भयो, बत्ति त घरघरमा पुगेको छ। तर त्यो बत्ती कहिले आउँछ, कहिले जान्छ—त्यो कसैले जान्दैन। हावाले सुँक्क हल्लायो कि अन्धकार। पानी पर्यो कि लाइन गयो।
त्यो अन्धकारमा रैकवारका किसानले धानको बिउ हेर्छन्—र लठ्ठिन्छन्। सिचाइ गर्न सक्दैनन्। मोटर छन्, तर पावर छैन। रहर छ—तर सरकार छैन।
स्थानीयले बारम्बार विद्युत कार्यालयको ढोका ढकढक्याए, फोन गरे, विन्ती गरे—तर उत्तर सधैं एउटै रह्यो: “संरचना पुरानो छ, कर्मचारी खटिरहेका छन्, समय लाग्छ।”
अहिलेसम्म पुरानै तार, पुरानै ट्रान्सफर्मर, पुरानै पोलहरू छन्। र सडक? अब त पिच छन्, स्कूल बस गुड्छ, तर माथिबाट लट्किएको त्यो झुन्डिएको तार देख्दा छोराछोरीहरू स्कूल जान डराउँछन्।
“चैते धान रोप्न भ्याइन्छ कि भनेर खेत खन्यौं,” एक किसानले भने, “मोटर छ, पम्प छ, पानी छैन। किनभने लाइन छैन।”
एक अर्का किसानको आवाज अझै पीडादायी छ—“गर्मीको रात छ, सुत्न सकिन्न। फ्यान चल्दैन, टर्च बालेर बस्नुपर्छ। विहान उठ्दा मोटर पग्लेको हुन्छ।”
उनको आँखामा आशाभन्दा बढी थकाइ झल्किएको छ।
किन सुनिन्न त पीडा?
कृषकहरू प्रश्न गर्छन्—सरकार परिवर्तन भयो, पालिका आयो, प्रदेश आयो, सांसद आए, मन्त्री बने—तर हाम्रो अन्धकार किन उस्तै?
विद्युत प्राधिकरणको भनाइ पनि सुनौं—“हामी समस्याबारे जानकार छौं। संरचना पुराना छन्। जनसंख्या बढेको छ। लाइन छुट्याएको भए सजिलो हुने थियो।”
तर ती उत्तरहरू किसानलाई बिझिरहेका छन्। किनभने उनीहरू समस्या होइन, समाधान खोजिरहेका छन्।
ती समाधान नपाउँदासम्म, रैकवार विचवाका किसानको सपना बिजुलीको झिल्काजस्तै क्षणिक हुनेछ।
अहिले राज्य नजाग्ने हो भने, यो अन्धकार थप गहिरिँदै जानेछ। अनि, रैकवार विचवाका खेतहरू सुक्दै जानेछन्, मोटरहरू कुहिँदै जानेछन् र सपना ओइलिँदै जानेछन्।