साउन ११ धनगढी
आज १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष पूरा भएको छ। २०७५ साउन १० गते साथीको घर गएकी निर्मला ११ गते खेतमा बलात्कृत र हत्या गरिएको अवस्थामा फेला परिन्। तर, सात वर्ष बित्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।
यो हत्याकाण्ड नेपाल प्रहरीका लागि मात्र नभई सम्पूर्ण मुलुकको न्याय प्रणालीको असफलताको जीउँदो उदाहरण बनेको छ। अनुसन्धानकै नाममा पटक–पटक प्रहरी अधिकारी फेरिए, छानबिन समिति बनाइए, आरोपित बनाइए, रिहा गरिए, तर निष्कर्ष शून्य रह्यो।
दोषी ठहर गरिएका दिलीपसिंह विष्टको डीएनए नमिलेपछि उनी थुनामुक्त भए। सो क्रममा स्थानीय आक्रोश चुलिँदा प्रहरीले चलाएको गोली लागेर सन्नी खुनाको ज्यान गयो। तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीलाई कारबाही गरियो, तर पछि उनीहरूलाई सफाइ दिइयो। प्रहरी संगठनमा आधा दर्जनभन्दा बढी आईजीपी फेरिए, तर न्याय अझै अधुरै छ।
अनुसन्धानमा खटिएका अधिकारीहरूबीच नै मतभेद देखिएको बताइन्छ। कसैले पहिलेको अनुसन्धान गलत थियो भन्छन्, तर नयाँ तथ्य पनि प्रस्तुत गर्न सक्दैनन्। सीआईबीको टोली समेत पछिल्लो समय कञ्चनपुर जान छाडेको अवस्था छ।
निर्मला पन्तको बलिदानले यत्ति सिकाएको छ— जब राज्य मौन हुन्छ, न्याय पनि मौन हुन्छ। सात वर्षपछि पनि एउटी नाबालिकाको आत्माले प्रश्न गरिरहेकी छ— “मेरो दोषी कहिले समातिन्छ?”