कोदोजन्य परिकार, स्वस्थ जीवनको आधार

विश्वनाथ खरेल
साउन १६ धनगढी

नेपालका पहाडी र उच्च पहाडी क्षेत्रहरूमा कोदो, फापर, चिनो, कागुनोजस्ता अन्न प्रमुख बालीका रूपमा खेती गरिन्छन् । यी अन्न कम उर्वर भूमिमा पनि फल्ने, कम पानी चाहिने र विभिन्न जलवायु परिस्थितिमा पनि राम्रो उत्पादन दिन्छन् । यी अन्नबाट विभिन्न प्रकारका परिकार बनाइन्छन् । जसले नेपालीको दैनिक आहारमा विविधता ल्याउँछ ।

कोदोको ढिँडो, फापरको रोटी, कोदोको सेलरोटी, चिनोको भात, कोदोको माल्पुवा, कोदोको पुवालगायतका परिकार नेपाली भान्साका अभिन्न अंग हुन् । यी परिकार केवल खानामात्र नभएर नेपाली संस्कृति र परम्परासँग पनि जोडिएका छन् ।

कोदोजन्य परिकारको पौष्टिक मूल्य : कोदोजन्य अन्नलाई ‘सुपर फुड’को रूपमा पनि चिनिन्छ । जसमा मानव शरीरका लागि आवश्यक पर्ने धेरै पौष्टिक तत्त्व प्रचुर मात्रामा पाइन्छन् । यिनमा प्रोटिन, फाइबर, भिटामिन बी कम्प्लेक्स (विशेषगरी नायसिन, थायमिन र राइबोफ्लेभिन), फलाम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र जिंक जस्ता खनिज पर्याप्त मात्रामा हुन्छन् ।


उच्च फाइबर :
कोदो, फापरजस्ता अन्नहरूमा प्रशस्त मात्रामा आहार फाइबर पाइन्छ । फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ, कब्जियतको समस्या कम गर्छ र शरीरमा चिनीको अवशोषणलाई ढिलो बनाउँछ । जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । यसले पेट भरिएको महसुस गराएर अनावश्यक खाना खानबाट रोक्छ, जसले तौल व्यवस्थापनमा पनि मद्दत गर्छ ।

ग्लुटेन–मुक्त : ग्लुटेन संवेदनशीलता वा सेलिअक रोग भएका व्यक्तिहरूका लागि कोदोजन्य अन्नहरू एक उत्कृष्ट विकल्प हुन् किनकि यिनीहरू ग्लुटेन–मुक्त हुन्छन् ् । गहुँ र जौमा पाइने ग्लुटेनले कतिपय मानिसमा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ । तर कोदो र फापरजस्ता अन्नले त्यस्ता समस्या सिर्जना गर्दैनन् ।

खनिज पदार्थको स्रोत : यिनीहरू क्याल्सियम, फलाम, म्याग्नेसियम, फस्फोरसजस्ता महत्त्वपूर्ण खनिजको राम्रो स्रोत हुन् । क्याल्सियमले हड्डी र दाँतलाई बलियो बनाउँछ भने फलामले रगतमा हेमोग्लोबिनको मात्रा बढाएर रक्तअल्पताको जोखिम कम गर्छ । म्याग्नेसियमले मांसपेशी र स्नायु प्रणालीको कार्यप्रणालीमा मद्दत गर्छ ।


एन्टिअक्सिडेन्ट :
कोदोजन्य अन्नहरूमा एन्टिअक्सिडेन्टहरू पनि पाइन्छन् ् । जसले शरीरमा फ्रि रेडिकलहरूको हानिकारक प्रभावलाई कम गर्न मद्दत गर्छ । विभिन्न दीर्घकालीन रोगहरू जस्तै मुटु रोग, क्यान्सर र मधुमेहको जोखिम घटाउँछ ।

मधुमेह नियन्त्रणमा सहयोगी : यिनीहरूको कम ग्लाइसेमिक इन्डेक्स (जीआई)को कारण, कोदोजन्य अन्नहरूले रगतमा चिनीको मात्रालाई बिस्तारै बढाउँछन् । जसले गर्दा मधुमेहका रोगीहरूका लागि यी अन्नहरू निकै लाभदायक मानिन्छन् ।
खाद्य सुरक्षामा कोदोजन्य परिकारको भूमिका

खाद्य सुरक्षा : खाद्य सुरक्षा भन्नाले सबै मानिसलाई, सबै समयमा, पर्याप्त, सुरक्षित र पौष्टिक खाना उपलब्ध हुनु भन्ने बुझिन्छ । जसले उनीहरूको सक्रिय र स्वस्थ जीवनशैलीको लागि आवश्यक आहार आवश्यकताहरू पूरा गर्न सकोस् । नेपालमा कोदोजन्य अन्नहरूले खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।


जलवायु परिवर्तन प्रतिरोधी बाली :
कोदो, फापरजस्ता अन्न सुक्खा सहने, कम पानी चाहिने र विभिन्न प्रतिकूल मौसममा पनि फल्न सक्ने क्षमता राख्छन् । जलवायु परिवर्तनले कृषिमा पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दा यस्ता बालीहरू खाद्य संकटको अवस्थामा पनि उत्पादन दिन सक्ने भएकाले खाद्य सुरक्षाका लागि अति आवश्यक छन् । यिनीहरूले माटोको उर्वरतालाई पनि कायम राख्न मद्दत गर्छन्, जसले दिगो कृषि प्रणालीलाई बढावा दिन्छ ।


सीमान्तकृत भूमिको उपयोग :
नेपालको ठूलो भूभाग पहाडी र उच्च पहाडी क्षेत्रमा पर्छ । जहाँ अन्य प्रमुख बालीहरू जस्तै धान र गहुँको उत्पादन गर्न कठिन हुन्छ । यस्ता सीमान्तकृत र सुक्खा भूमिमा पनि कोदोजन्य अन्नहरू सजिलै उत्पादन गर्न सकिन्छ । जसले कृषि उत्पादनको क्षेत्र विस्तार गरी स्थानीय स्तरमा खाद्य उपलब्धता सुनिश्चित गर्छ ।

आर्थिक सुरक्षा र रोजगारी : स्थानीय स्तरमा कोदोजन्य अन्नहरूको खेती र प्रशोधनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्छ । किसानहरूको आर्थिक अवस्था सुदृढ गर्न मद्दत गर्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ र ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउँछ ।

पोषण सुरक्षा : नेपालमा अझै पनि कुपोषण एक प्रमुख जनस्वास्थ्य समस्या हो । विशेषगरी, बालबालिका र महिलाहरूमा कुपोषणको समस्या बढी देखिन्छ । कोदोजन्य अन्नहरूमा पाइने उच्च पोषण मूल्यले कुपोषणसँग लड्न र पोषण सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यिनीहरूले आवश्यक सूक्ष्म पोषक तत्त्वहरूको कमीलाई पूरा गर्न मद्दत गर्छन् ।

स्वस्थ जीवनमा कोदोजन्य परिकारको योगदान कोदोजन्य अन्नहरूले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गरी स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् । जसमा निम्न
बुँदाहरू उल्लेख छन् ।

पुरानो रोगहरूको रोकथाम : नियमित रूपमा कोदोजन्य परिकारको सेवनले मधुमेह, मुटु रोग, मोटोपना र केही प्रकारका क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ । यिनीहरूको उच्च फाइबर, एन्टिअक्सिडेन्ट र कम ग्लाइसेमिक इन्डेक्सले यी रोगहरूका लागि सुरक्षा कवचको काम गर्छ ।


पाचन स्वास्थ्यमा सुधार :
फाइबरको उच्च मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्छ, नियमित आन्द्रा चाल सुनिश्चित गर्छ र कब्जियतजस्ता समस्याहरूबाट मुक्ति दिलाउँछ । यसले आन्द्राको माइक्रोबायोमलाई पनि स्वस्थ राख्छ, जसले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।


हड्डीको स्वास्थ्य :
क्याल्सियमको राम्रो स्रोत भएकाले कोदोजन्य अन्नहरूले हड्डीलाई बलियो बनाउन र ओस्टियोपोरोसिसजस्ता हड्डीसम्बन्धी रोगहरूको जोखिम कम गर्न मद्दत गर्छन् ।


रक्तअल्पताको रोकथाम :
फलामको राम्रो स्रोत भएकाले यिनीहरूले रक्तअल्पता (एनिमिया)को रोकथाम र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छन् । साभार अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply