साउन २० धनगढी
इंग्लिस च्याम्पियन लिभरपुलका महँगा नयाँ खेलाडीहरूले डेब्यू गरे पनि सबैको ध्याँन भने १६ वर्षीय रिओ नुमोहाले खिँचेका छन्।
यसअघि स्टार खेलाडीसँग नखेले पनि उनले सबैलाई आकर्षित गर्न सफल भएका हुन्।
लिभरपुलले स्पेनिस क्लब एथलेटिक बिल्बाओविरुद्ध एकैदिन दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो।
इंग्ल्यान्डको यू-१७ टोलीका फरवार्ड नुमोहाले पहिलो खेलमा सुरुवाती अवसर पाएका थिए। सो खेलमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिइएको थियो।
उनले खेलको पहिलो पाँच मिनेटभित्रै एक गोल र एक असिस्ट गरेर पछि के चाहियो लिभरपुलका फ्यानलाई! उनको चर्चा सुरु भइहाल्यो। खेल लिभरपुलले ४-१ ले जित्यो।
दोस्रो खेलमा २६३.५ मिलियन पाउन्ड खर्चिएर अनुबन्ध गरिएका खेलाडीहरु फ्लोरियन विर्ट्ज, ह्युगो एकिटिके, जेरेमी फ्रिम्पोङ लगायत मैदान उत्रिए। तर, त्यो खेलमा गाक्पो नायक बने। उनले दुई गोल गरे भने लिभरपुल ३-२ ले विजयी भयो।
यसै महिना १७ वर्ष पुग्न लागेका नुमोहा प्रि-सिजनमा लगातार चम्किरहेका छन्, जसले गर्दा समर्थकहरूले उनलाई यसै सिजन पहिलो टोलीमा देख्न चाहेका छन्।
यो सिजन लिभरपुलको अग्रपंक्तिमा धेरै परिवर्तन आएको छ। फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा दुःखद निधन, लुइस डियाज बायर्न म्युनिखमा बिक्री हुनु र नुनेजलाई साउदी क्लबले किन्न खोज्नुले गर्दा नुमोहाजस्ता युवा खेलाडीका लागि ढोका खुलेको छ।
‘म हतार गर्न चाहन्नँ, किनकि म अझै सानै छु,’ नुमोहाले भनेका छन्, ‘तर म प्रशिक्षकलाई आफ्नो क्षमता देखाउन चाहन्छु।‘
नुमोहा लिभरपुलको एकेडेमीका उत्पादन होइनन्। उनी गत सिजन मात्र चेल्सीको युवा टोलीबाट लिभरपुल आएका थिए। त्यतिबेला चेल्सीका पूर्वकप्तान जोन टेरीले लेखेका थिए, ‘यो केटा एक उत्कृष्ट खेलाडी हुन् र भविष्यमा पनि हुनेछन्।’