भदौ ११
बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक आज (बुधबार) दिउँसो करिब २ बजे जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप इश्वरीगंगा जाने बाटोनिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले जानकारी दिए।
घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–११ ग्वालेककी ५० वर्षीया हरिना जोशी, दशरथचन्द नगरपालिका–६ का २१ वर्षीय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका–६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी नगरपालिका–४ का ३८ वर्षीय हिरा भट्ट, पुर्चौडी नगरपालिका–५ का १७ वर्षीय रिकेश पार्कि, पुर्चौडी नगरपालिका–५ का २८ वर्षीय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चौडी नगरपालिका–४ का २३ वर्षीय जनक भट्ट, पाटन नगरपालिका–९ का १८ वर्षीय कबिराज भट्ट (गम्भीर घाइते), पाटन नगरपालिका–९ का २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका–३ का ४२ वर्षीय डम्मर दत्त भट्ट रहेका छन्।
दुर्घटनाका बेला जीपमा चालकसहित जम्मा १३ जना सवार थिए। घाइते सबैको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भए पनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बडूले जानकारी दिए। दुर्घटनाको वास्तविक कारण भने अझै खुलेको छैन।