कञ्चनपुर, १२ भदौँ – भारतसँग प्रत्यक्ष जोडिएको कञ्चनपुरको सीमावर्ती क्षेत्रमा तस्करी खुलेआम भइरहेको छ। स्थानीय व्यवसायी, किसान र घरसायक सामान ल्याउनेहरू मारमा परेका छन्, जबकि सुरक्षा निकायको उपस्थिति बावजुद प्रतिबन्धित अण्डा, कुखुरा, चल्ला, माछा र व्यवसायिक सामग्री समेत सेटिङ्गमै भित्रिरहेको छ।
स्थानीयवासीको भनाइ अनुसार, घरसायक समान ल्याउँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाइ गर्छन्, तर ठूलो व्यवसायी वा तस्करले पैसा दिएमा उनीहरूलाई समान ल्याउन दिइन्छ। रोशन चौधरीले भने, “नगद दिएन भने समान बरामद मात्र गरेर मिडियामा देखाइन्छ, तर तस्करी रोकिँदैन।”
कुखुरा व्यवसायी संघका अध्यक्ष भरतदत्त भट्टले भारतबाट खुला तस्करी हुँदा स्वदेशी व्यवसायी मारमा परेको बताए। “सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करसँग हिमचिम गर्छन्, वैध व्यवसायीलाई सहयोग हुँदैन। प्रतिबन्धित कुखुरा, अण्डा र चल्ला भित्रिदा व्यवसायी मारमा परिरहेका छन्,” उनले गुनासो गरे।
गत वर्ष भन्सारले राजस्व संकलनमा लक्ष्य पूरा गर्न नसकेको तथ्यले तस्करीको व्यापकता देखाउँछ। जिल्ला प्रशासन कार्यालयका तथ्यांक अनुसार, गत आर्थिक वर्षमा भन्सारले ७४ करोड ५५ लाख ९० हजार राजस्व संकलन गर्नुपर्नेमा ५९ करोड ७७ हजार मात्र संकलन भएको थियो।
स्थानीयले सुरक्षा निकायको उपस्थिति भए पनि तस्करी रोक्न नसकिएको, सेटिङ्गमा भित्रिने सामानको प्रमाण नदेखिने र घरसायक समान ल्याउनेलाई दण्ड दिइने भन्दै गुनासो गरेका छन्। यसले कञ्चनपुर सीमामा तस्करी नियन्त्रणको व्यवस्थापनमा गम्भीर खालको चुनौती उत्पन्न भएको देखाउँछ।