बेलौरीमा नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न

बेलौरी, भाद्र २१
सिएमसी नेपाल र बेलौरी नगरपालिकाको साझेदारीमा, संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा सञ्चालित सशक्त महिला समृद्धि नेपाल कार्यक्रम अन्तर्गत आइतबार नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न भएको छ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यतामा महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईँ, वडा नम्बर ८, ९ र १० का वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू, शान्ति पुनर्स्थापना गृह, साथी, पिसविन, टीपीओ लगायतका साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सिएमसी नेपालकी वरिष्ठ मनोसामाजिक परामर्शदाता जानकी चन्दले बैठकमा कार्यक्रम अन्तर्गत विगत एक वर्षमा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्नुभयो। उहाँका अनुसार बेलौरी नगरपालिकामा हाल दुई जना सामुदायिक मनोसामाजिक कार्यकर्तामार्फत विद्यालय र समुदाय स्तरमा लैङ्गिक हिंसा निवारण तथा मानसिक स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन हुँदै आएका छन्।

विगत एक वर्षमा लैङ्गिक हिंसा र मानसिक स्वास्थ्यसम्बन्धी मुद्दामा प्रभावितलाई पहिचान गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने, OCMC (एकद्वार संकट व्यवस्थापन केन्द्र) को सेवा प्रवाहबारे जानकारी दिने, प्रभावितलाई स्वास्थ्य संस्थामा पठाउने, तथा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने कार्यहरू सम्पन्न भएका छन्। अहिलेसम्म OCMC मा ३१८ जना पुगेका मध्ये ५१ जना बेलौरी नगरपालिकाबाट सेवा लिन आएका छन्। त्यस्तै, सामुदायिक स्तरमा १३७ जना प्रभावितलाई पहिचान गरी सेवा उपलब्ध गराइएको छ भने करिब १३ हजार ४४० जनालाई लैङ्गिक हिंसाका असर, प्रभाव र सेवा प्रदायक निकायबारे जानकारी गराइएको छ।

कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसाबाट प्रभावित ३ जनालाई नगरपालिकासँग समन्वय गरी आर्थिक सहयोग उपलब्ध गराइएको छ। साथै, ८ जनालाई सीपमूलक तालिम दिलाइएको छ, जसमा बेतबास उत्पादन, खाजा नास्ता व्यवसाय, सिलाई–कटाइ लगायतका सीप समावेश छन्। प्रभावित मध्ये केहीलाई नागरिकता बनाउन सहयोग गरिएको छ भने औषधि उपचारमा समेत ४ जनालाई सहयोग गरिएको छ।

सिएमसी नेपालकी परामर्शदाता चन्दका अनुसार समुदायमा काम गर्दै जाँदा अझै पनि धेरै चुनौती देखिएका छन्। विशेषगरी, आर्थिक अभावका कारण उपचार निरन्तर गर्न नसक्ने, औषधि लिन छाड्ने, घर–परिवार र समाजले वास्ता नगर्ने, तथा सामाजिक कारणले सेवा प्रदायक निकायमा जान नसक्दा प्रभावितहरू जोखिमपूर्ण अवस्थामा रहने समस्या रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोतिलाल चौधरीले यसअघि लैङ्गिक हिंसा र मानसिक समस्याबारे नगरपालिकामा पर्याप्त जानकारी नहुँदा प्रभावितका समस्या ओझेलमा पर्ने गरेको बताउनुभयो। उहाँले सशक्त महिला समृद्धि नेपाल संस्थाको पहलपछि समुदायमा भएका लैङ्गिक हिंसा र मानसिक समस्याबारे प्रत्यक्ष जानकारी प्राप्त भएको भन्दै यस्तो पहिचानले न्यूनीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

“विकास निर्माणमा मात्र नभई समाजमा हुने हिंसा र मानसिक समस्यालाई पनि गम्भीरतापूर्वक नियाल्नुपर्छ। यस्ता समस्या समाधान गर्न सके मात्र समावेशी र सशक्त समाजको निर्माण सम्भव हुन्छ,” नगरप्रमुख चौधरीले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply