रैकवार खबर दैनिक
असोज २
धनगढी – सुन्दर सुदूरपश्चिमको नमुना शहर धनगढी उपमहानगरपालिका–८, क्याम्पस रोड, बुद्धचोक नजिकै हुर्केका दिपक आज नेपाल फर्किएका छन्। करिब सात वर्षअघि उच्च अध्ययनका लागि फिलिपिन्स गएका उनी निरन्तर संघर्ष, मिहिनेत र धैर्यताको यात्राबाट डाक्टर बन्न सफल भएका छन्।
आज काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको आगमनसँगै वातावरण भावुक बनेको थियो। सात वर्षदेखि परदेशी आकाशमा रमाइरहेको चराही पन्छीजस्तै उनी नेपाली भूमिमा अवतरण हुँदा परिवारका सदस्य मात्र होइन, आफन्त, साथी र चिनजानका सबैको मुटु छुन सक्ने क्षण बनेको थियो। म मामा पदम पनि त्यही क्षणको प्रत्यक्ष साक्षी थिएँ— जब उनले मातृभूमिको हावा श्वास फेरे, त्यो क्षण खुशी, अभिमान र आँसु सबै एकसाथ मिसिएको अनुभव भयो।
दिपक केवल सफल चिकित्सक मात्र बनेर आएका होइनन्, उनी असल नागरिकको उदाहरण बनेका छन्। गाउँ–शहर हिमाल पहाड मा बसाइँ गर्दै आएका गरिब, असाहाय, टुहुरा र सीमान्तकृत वर्गका लागि आफ्नो सीप र ज्ञान समर्पण गर्ने उनको प्रतिबद्धता उनको चरित्रको साँचो मूल्य हो।
सामान्य परिवारमा जन्मिएका दिपकको यात्रामा असंख्य कठिनाइका भोगाइ जोडिएका छन्। बाल्यकालमा विद्यालयको साधारण डेस्क–बेञ्चमा बसेर ठूलो सपना देखेका उनी घरको आर्थिक अभावलाई कहिल्यै कमजोरी बन्न दिएनन्। पढाइमा उत्कृष्ट मात्र नभई, परिवारप्रति दायित्वबोधले भरिएका थिए।
कोरोना महामारीमा बिताएका उनका वर्षहरू अझ पीडादायी थिए। परदेशी भूमिमा रहेर महामारीको त्राससँगै अध्ययनको दबाब झेल्नु, परिवारबाट टाढा रहनु, घरको यादमा आँसु पुछ्नु— यी सबैले उनलाई असाध्यै परिपक्व बनायो। त्यतिबेला बुबा–आमाले ऋण, कर्जा र पसिनाले कमाएको पैसाबाट पढाइ निरन्तरता दिने काम गरे, अनि उनले त्यो त्यागलाई आफ्नो सफलतामा परिणत गरे। यी पीडा र संघर्षका अध्यायहरूले नै उनलाई आजको संवेदनशील र दयालु चिकित्सक बनाए।
दिपकमा एउटा अद्वितीय गुण छ— उनी नम्रता, सेवा भाव र परिवारप्रतिको आदरले भरिएका छन्। दिदीबहिनीलाई आमा जस्तै, दाजुभाइलाई बुबा जस्तै सम्मान गर्ने स्वभावका कारण उनी सबैको प्रिय बनेका छन्। आमाबुबाको सपना पूरा गर्दै, उनी आज केवल चिकित्सक होइन, आमाबुबाका सपनाको मूर्त स्वरूप बन्ने छन्।
अब उनले जीवनको नयाँ यात्रा सुरु गर्ने तयारी गरेका छन्। फिलिपिन्सको धर्तीमा कमाएको ज्ञान र अनुभव अब नेपालकै माटोमा प्रयोग गर्ने प्रतिबद्धता संकल्प गरेका छन् । गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा पुर्याउने, अशिक्षितलाई स्वास्थ्यप्रति सचेत बनाउने, सीमान्तकृतलाई उपचारमा सहज पहुँच दिलाउने र मानवतामा आधारित चिकित्सा सेवा गर्ने उनको दृढता समाजलाई प्रेरणा दिनेछ।
दिपकको आगमन केवल परिवारको खुशी मात्र होइन, समाजको गौरव हो। उनका उच्च विचार, नम्रता र सेवाभावले नेपाललाई नयाँ आशा दिनेछन्। बाल्यकालदेखि संघर्षको यात्राबाट यहाँसम्म आइपुगेका दिपक जस्तै युवाहरू राष्ट्र निर्माणमा अगाडि बढ्ने हो भने, नेपालका कुनाकन्दरासम्म उपचारको प्रकाश पुग्नेछ, स्वास्थ्यलाई सम्पत्ति ठान्ने संस्कार मजबुत हुनेछ, र भविष्य अझ उज्यालो बन्नेछ।
उनको यात्रा हामी सबैका लागि प्रेरणादायी हो— सपना देख्न सक्ने, कठिनाइलाई जित्न सक्ने, र मातृभूमिलाई सेवा गर्ने जोस राख्न सक्ने प्रत्येक युवाको कथा।