१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा, कञ्चन माविमा तीव्र चहलपहल

हेमा भट्ट, पुस ४
कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित कञ्चन माध्यमिक विद्यालयमा आयोजना हुने १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विद्यालय परिसर, खेलमैदान तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा आयोजक समिति, विद्यालय र स्थानीय तहले तीव्रता दिएका छन् ।

प्रतियोगितामा २८ विद्यालयका १५ सयभन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । वडा नम्बर ७ मा यस किसिमको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुनु स्थानीय स्तरका खेलाडी, विद्यार्थी र समुदायका लागि महत्वपूर्ण अवसर भएको सरोकारवालाहरूले बताएका छन् ।

वडा अध्यक्ष घुम्न रानाले वडा नम्बर ७ मा प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै भने,
“यसले विद्यार्थीमा खेलप्रतिको रुचि बढाउने मात्र होइन, अनुशासन, नेतृत्व र स्वास्थ्यप्रति सचेत बनाउँछ । भविष्यमा वडा ७ लाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन योजना छ ।”

उनले कञ्चन माविको खेलमैदान र पूर्वाधार प्रतियोगिताका लागि उपयुक्त अवस्थामा रहेको र आवश्यक मर्मत, सरसफाइ तथा सुरक्षामा वडाले सहयोग गरेको जानकारी दिए । “बढ्दो चिसोलाई ध्यानमा राख्दै खेलाडीका लागि प्राथमिक उपचार, न्यानो विश्रामस्थल र आवश्यक समन्वय गरिएको छ,” उनले भने ।

कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले रनिङ सिल्ड प्रतियोगिता विद्यार्थीको बहुआयामिक विकासका लागि महत्वपूर्ण भएको बताइन् ।
“खेलकुदले शारीरिक मात्र होइन, मानसिक विकास पनि गर्छ । विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्छन्,” उनले भनिन् ।

आयोजक समितिका अनुसार चिसो मौसमलाई मध्यनजर गर्दै खेल तालिका बिहान ढिलो सुरु गर्ने, खेलबीच पर्याप्त विश्राम दिने व्यवस्था मिलाइएको छ । खेलाडीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी, प्राथमिक उपचार सामग्री र आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

मौसम प्रतिकूल भएमा खेल स्थगन वा समय परिवर्तन गर्ने स्पष्ट मापदण्डसमेत तयार गरिएको आयोजकले जनाएको छ ।

कञ्चन मावि तथा कञ्चन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि गैरालले विद्यालयमा प्रतियोगिता आयोजना हुनु गर्वको विषय भएको बताए ।“खेलमैदान, दर्शक बस्ने स्थान र व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रयास गरेका छौँ,” उनले भने ।

प्रधानाध्यापक कर्म राज चौधरीले विद्यार्थी तथा दर्शकको सुरक्षा, स्वयंसेवक परिचालन र सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिए । “खेलाडीका लागि तातोपानी र न्यानो विश्रामस्थलको व्यवस्था गरिएको छ,” उनले बताए ।

प्रतियोगितामा विभिन्न एथलेटिक्स तथा टिम खेलहरू समावेश छन् । निष्पक्षता सुनिश्चित गर्न मान्यताप्राप्त निर्णायक प्रणाली अपनाइनेछ । विजेता खेलाडी तथा विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

सरकार, विद्यालय र समुदायको सहकार्यमा आयोजना हुने यस प्रतियोगिताले स्थानीय खेल प्रतिभा पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply