कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

हेमा भट्ट, पुस ५
कञ्चनपुर — कृष्णपुर नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ पुस ५ गतेदेखि सुरु भएको छ । पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना सहभागी हुनु भएको थियो ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, जिल्ला समन्वय समिति सदस्य जयसिंह बिष्ट, नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्रप्रसाद भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षा शाखाका प्रमुख अनिल ठकुन्ना, २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, युवा, महिला, विद्यार्थी, अभिभावक तथा विभिन्न खेल विधाका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न रानाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताको आयोजना कृष्णपुर नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो ।

उद्घाटन समारोहमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कञ्चनपुर जिल्लाबाट विजयी खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूको हातबाट वितरण गरिएको थियो ।

प्रमुख अतिथि राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्रको विकासका लागि निष्पक्षता, पारदर्शिता र इमानदारी अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्षम र नेतृत्वशील बनाउने भन्दै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, समाजसेवी तथा पूर्व संविधानसभा सदस्य कमल क्षेत्री, कृष्णपुर नगरपालिकाका पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, कृष्णपुर नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्र प्रसाद भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका सभापति नगर प्रमुख हेमराज ओझाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मर्यादित, निष्पक्ष र अनुशासित रूपमा सञ्चालन गर्न आयोजक तथा व्यवस्थापन पक्षलाई निर्देशन दिनुभयो । उहाँले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व विकास हुने उल्लेख गर्दै खेलाडी तथा विद्यालयको मेहनतको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

उद्घाटन अवसरमा सम्पन्न मार्चपास प्रतियोगितामा कञ्चन माध्यमिक विद्यालय प्रथम, उदय माध्यमिक विद्यालय दोस्रो र साइनिङ मुन विद्यालय तेस्रो भएका थिए । विजयी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नगरपालिका स्तरीय यस प्रतियोगिताले स्थानीय तहमा खेलकुद विकास, प्रतिभा पहिचान तथा प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply