केशव थापा
कञ्चनपुर, ६ पुष
झोलामा डायरी, मनमा समाज — यही परिचयले चिनिएका बेलडाँडीका सरल तर दृढ समाजसेवी धनसिंह महरा (सिताराम) अब स्मृतिमा सीमित भएका छन्। लामो समयदेखि बिरामी रहेका ७५ वर्षीय महराको आइतबार आफ्नै निवास, बेलडाँडी गाउँपालिका–१ झिलमिलाबस्तीमा निधन भयो।
आइतबार दिउँसै धार्मिक परम्परा अनुसार झिलमिलास्थित चौधर नदीमा उनको अन्त्येष्टि गरियो। जेठा छोरा करन, नाती खडकु र बिनोदले पार्थिव शरीरमा दागबत्ती दिए। मलामी बनेर आएका सयौँ गाउँलेका आँखामा आँसु थियो, ओठमा एउटै कुरा— “सितारामजस्ता मान्छे अब पाइँदैन।”
पञ्चायतकालमा तत्कालीन बेलडाँडी गाविस–९ का वडाध्यक्ष रहेका महरा राजनीतिक चेतना र सामाजिक सेवाको संगम थिए। कम्युनिष्ट विचारधारामा विश्वास राख्ने उनी गणतान्त्रिक युगसम्म आइपुग्दा पनि सधैं गाउँ र जनताकै पक्षमा उभिए।
शिक्षा र सामाजिक विकास उनका जीवनका मूल ध्येय थिए।
घरछेउकै सिद्धनाथ आधारभूत विद्यालयका संस्थापक अध्यक्ष, सरस्वती मावि झर्नासागरका पिटिए अध्यक्ष, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका सदस्य तथा आजीवन सदस्य— यी सबै पद भन्दा ठूलो उनको योगदान थियो।
उच्च शिक्षा, धार्मिक एकता र सामाजिक सुविधाका लागि उनले आफ्नै पैतृक सम्पत्तिबाट लाखौँ मूल्य पर्ने जग्गा दान गरे। क्याम्पस, राधाकृष्ण मन्दिर र प्रगति युवा क्लबका लागि सडक छेउकै जग्गा दिँदा उनले कहिल्यै प्रतिफल खोजेनन्।
‘सिताराम, सिताराम’ लेख्दै डायरीमा समाजका पीडा टिपोट गर्ने बानीले नै उनलाई यही नामले चिनायो।
साधा जीवन, उच्च विचार— यही थियो उनको दर्शन।
उनको निधनप्रति विद्यालय, क्याम्पस, क्लब र स्थानीय सरकार सबैले गहिरो शोक व्यक्त गरेका छन्। सिद्धनाथ आधारभूत विद्यालय र रौलेश्वर क्याम्पसले शोक विदा दिएका छन्। गाउँपालिका प्रमुखदेखि शिक्षक, समाजसेवी र युवासम्म सबैले उनलाई “बेलडाँडीको धरोहर” मानेका छन्।
आज सितारामको भौतिक शरीर छैन,तर उनले रोपेका शिक्षा, चेतना र सेवाका बीउ बेलडाँडीका हरेक पाखा–पखेरामा उम्रिरहेका छन्।
घरपरिवार, आफन्त, इष्टमित्र र सिङ्गो गाउँ शोकमा डुबेको छ।
जेठा छोरा करन महरा क्रियामा बसेका छन्। मानिस मर्छ, तर कर्म बाँचिरहन्छ।बेलडाँडीका लागि ‘सिताराम’ यही अमर नाम हो।
