कृष्णपुर नगर स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, जे.वि. एकेडेमी प्रथम

हेमा भट्ट पुस ७
कञ्चनपुर – कृष्णपुर नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा पौष ५ गतेदेखि ७ गतेसम्म तीन दिन सञ्चालन गरिएको थियो।

नगरस्तरीय खेलकुद प्रतिभाको पहिचान, विद्यार्थीमा अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना र शारीरिक सुदृढता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नगरभित्रका २८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका सयौँ खेलाडी विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा भएको थियो।

पदक तालिकामा जे.वि. एकेडेमी अग्रस्थानमा- तीनदिने प्रतियोगिताको अन्तिम पदक तालिका अनुसार श्री जे.वि. एकेडेमी, कृष्णपुर–०२ वाणीले १२ स्वर्ण, ५ रजत र २५ कास्य गरी कुल ४२ पदक जित्दै प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफल भएको छ।

L

त्यसैगरी, आयोजक विद्यालय श्री कञ्चन माध्यमिक विद्यालय, कृष्णपुर–०७ शान्तिपुरले ९ स्वर्ण, ९ रजत र ९ कास्य गरी कुल २७ पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ।श्री कञ्चनजङ्घा ई. माध्यमिक विद्यालय, कृष्णपुर–०५ले ७ स्वर्ण, ५ रजत र ७ कास्य गरी १९ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ। आयोजकका अनुसार प्रतियोगितामा कुल ६६ स्वर्ण, ६४ रजत र ९० कास्य गरी जम्मा २२० पदक वितरण गरिएको हो।

समापन समारोहमा उपस्थिति- प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथि ओलम्पियन दीपक बिष्ट, आसन ग्रहण जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का,नगर उपप्रमुख द्रोपति राना , अतिथि नगर खेलकुद विकास समिति अध्यक्ष प्रकाश बहादुर खड्का, शिक्षा शाखा प्रमुख अनिता ठगुन्ना,नगर सचिवालय, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाविद्, खेलकुद प्रशिक्षक, समाजसेवी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पुरस्कार वितरण र सम्मान कार्यक्रम- समारोहमा विजयी खेलाडी तथा विद्यालयहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रतियोगिता सफल बनाउन अहोरात्र खटिएका स्वयंसेवक, निर्णायक, शिक्षक, खेल संयोजक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा आयोजक संस्थालाई धन्यवाद तथा कदरपत्रमार्फत सम्मान गरिएको थियो।

वडा नं. ७ अन्तर्गतका विभिन्न क्लबबाट खटिएका स्वयंसेवकहरूको खाजा तथा नास्ता वापत संकलित रकम कञ्चन माध्यमिक विद्यालयका उसु खेलका विजेता खेलाडीहरूलाई सहयोगस्वरूप प्रदान गर्ने निर्णयसमेत सार्वजनिक गरिएको थियो। उक्त रकम कञ्चन माविका पूर्व अध्यक्ष उपेन्द्र सिंह ठकुराठीमार्फत हस्तान्तरण गरिने जानकारी दिइयो।

नगर प्रमुखको प्रतिबद्धता- समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख हेमराज ओझाले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, स्वास्थ्य र नेतृत्व क्षमता विकास गर्छ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै खेल पूर्वाधार र प्रशिक्षणमा थप लगानी गर्नेछ।”

खेलकुदमार्फत सकारात्मक सन्देश
-समारोहमा ओलम्पियन दीपक बिष्ट, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा अन्य वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, सक्षम र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन सहयोग पुर्‍याउने धारणा व्यक्त गरेका थिए। साथै स्थानीय संस्कृतिको प्रवर्द्धनका लागि परम्परागत बाजा र झाँकी प्रदर्शनसमेत गरिएको थियो।

कृष्णपुर नगरपालिकाको आयोजनामा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ ले नगरमा खेलकुदप्रति बढ्दो आकर्षण र सम्भावनालाई उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply