हेमा भट्ट, पुस १०
कञ्चनपुर — ख्रीष्ट धर्मावलम्बीहरूको महान पर्व खीष्टमसको अवसरमा खीष्टमस शुभकामना आदान–प्रदान तथा ख्रीष्ट जन्मोत्सव कार्यक्रम कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मटैया कटानस्थित सन्त मत्ति बिलिभर्स ईस्टन चर्चमा भव्य रूपमा सम्पन्न भएको छ।
२५ डिसेम्बर २०२५ मा आयोजना गरिएको उक्त कार्यक्रम सन्त मत्ति बिलिभर्स ईस्टन चर्चको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम चर्चका पास्टर नरेन्द्र कुवरको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने नेता खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खगराज भट्टले ख्रीष्टमसले मानव जीवनमा प्रेम, शान्ति, सहिष्णुता र सेवाभावको सन्देश दिने बताउनुभयो। उहाँले भन्नुभयो, “येशू ख्रीष्टको जन्म मानव जातिका लागि आशा, करुणा र सत्यको प्रतीक हो। धर्म, जात र वर्गभन्दा माथि उठेर समाजमा आपसी सद्भाव र सहकार्य बढाउन यस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेल्छन्।” उहाँले सबै धर्म र संस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपति राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले ख्रीष्टमस पर्वले समाजमा प्रेम, क्षमा र सहयोगको भावना विकास गर्ने उल्लेख गर्दै भन्नुभयो, “धर्म फरक भए पनि सबैको मूल भावना मानवता हो। यस्ता कार्यक्रमले सामाजिक एकता र आपसी समझदारीलाई थप बलियो बनाउँछ।” उहाँले नगरपालिकाले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सधैं सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष घुम्मन रानाले वडा क्षेत्रमा शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताउँदै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक मेलमिलापलाई थप मजबुत बनाउने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “विविधतामा एकता नै हाम्रो समाजको पहिचान हो, ख्रीष्टमस जस्ता पर्वहरूले आपसी विश्वास र सद्भाव बढाउँछन्।”

कार्यक्रममा अतिथिका रूपमा सहभागी समाजसेवी सुरेन्द्र धामी, राम भट्ट र राज खड्काले पनि ख्रीष्टमसको शुभकामना व्यक्त गर्दै धर्मले मानिसलाई नैतिक, अनुशासित र सेवामुखी बनाउने बताए। उनीहरूले समाजमा सकारात्मक सोच र सहयोगको भावना फैलाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका सभाध्यक्ष तथा चर्चका पास्टर नरेन्द्र कुवरले ख्रीष्ट जन्मोत्सवको धार्मिक महत्वबारे प्रकाश पार्दै येशू ख्रीष्टले प्रेम, त्याग र सेवाको मार्ग देखाएको बताउनुभयो। उहाँले भन्नुभयो, खीष्टमस केवल पर्व मात्र नभई मानवता, प्रेम र शान्तिको सन्देश हो, जसलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो।
कार्यक्रममा प्रार्थना, भजन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो। स्थानीय ख्रीष्टियन समुदायका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
कार्यक्रमको अन्त्यमा सबैलाई ‘मेरी क्रिसमस’ को शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, शान्ति र समृद्धिको कामना गरिएको थियो।
