विराटनगर, चैत १० गते । सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएर रोकथाम, नियन्त्रण र उपचारमा सक्रियता देखाइरहेको भएपनि मोरङमा रोगको सङ्क्रमण र त्यसबाट हुने मृत्युदरमा कमी आउन सकेको छैन ।
जिल्लामा स्वास्थ्य क्षेत्रको निरन्तर निगरानी र उपचारका प्रयास जारी रहँदा पनि क्षयरोगको सङ्क्रमण र मृत्युदर दुवै ग्राफ बढ्दा सरकारी लक्ष्यप्राप्तिमा चुनौती देखिएको छ ।
स्वास्थ्य कार्यालय मोरङको पछिल्लो ३२ महिनाको तथ्याङ्क अनुसार जिल्लामा क्षयरोगको अवस्था नियन्त्रणतर्फ भन्दा पनि प्रशारणतर्फ उन्मुख देखिएको हो ।
यस अवधिमा मात्रै तीन हजार ४४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १०५ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लामा प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या र मृत्यु हुने दर घट्नुको साटो बढ्दो क्रममा छ ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक हजार २७७ जना सङ्क्रमित फेला परेका थिए, जसमध्ये ३० जनाको मृत्यु भएको थियो । आव २०८१/८२ मा यो सङ्ख्या बढेर एक हजार ३४० पुग्यो भने मृत्यु हुनेको सङ्ख्या पनि ४० पुग्यो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ८ महिनामै ८३० जना नयाँ सङ्क्रमित थपिनु र ३५ जनाको मृत्यु हुनुलाई जिल्ला स्वास्थ्य कार्यालयले चुनौतीको रुपमा लिएको छ ।
स्वास्थ्य कार्यालयका अधिकृत राजवंशीले सङ्क्रमित पहिचानको दायरा बढाएका कारण बिरामीको सङ्ख्या बढी देखिएको दाबी गर्नुभयो । जिल्लाका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेली नगरपालिकामा सङ्क्रमितको सङ्ख्या बढी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिरामीले बिचमै औषधी सेवन गर्न छोड्ने प्रवृत्तिका कारण रोग नियन्त्रणमा कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । उपचार सुरु गरेपछि केही सुधार महसुस हुनेबित्तिकै औषधी छाड्नेहरुको सङ्ख्या उल्लेख्य हुँदा समस्या समाधानमा बाधा पुगिरहेको कार्यालयको भनाइ छ ।
उपचार र पहिचानका लागि जिल्लामा पर्याप्त पूर्वाधार नभएका भने होइनन् । हाल मोरङका १२३ वटा डट सेन्टरमार्फत निःशुल्क औषधी र २० वटा केन्द्रबाट खकार जाँच सेवा उपलब्ध छ । विराटनगरस्थित नाडा, मंगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा आधुनिक ‘जेन एक्सपर्ट’ प्रविधिबाट रोगको पहिचान भइरहेको छ । नाडामा औषधी प्रतिरोधी (डीआर) बिरामीका लागि विशेष उपचारको व्यवस्था समेत गरिएको छ ।
यसैबिच, जिल्लाका विराटनगर महानगरपालिका, पथरीशनिश्चरे र केराबारीलाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ ।
गोरखापत्र
