युद्धको असर खानेपानीमा

काठमाडौँ, चैत १० गते । पश्चिम एसियामा जारी युद्धका कारण नेपालका खानेपानी उत्पादन उद्योगका लागि आवश्यक पर्ने जार, बोतल, बिर्को (क्याप), लेबल र प्याकिङ सामग्रीको कच्चा पदार्थ अभाव भएको छ । नेपाल पानी उद्योग महासङ्घका अनुसार प्लास्टिक दानाको मुख्य आधार कच्चा तेल रहेको र अहिले यसको उत्पादनमा आएको गिरावटका कारण विश्व बजारमै प्लास्टिक दानाको चरम अभाव देखिएको छ ।

विशेष गरी खानेपानीको बोतल र जार बनाउन प्रयोग हुने ‘पेट रेजिन’ र बिर्को तथा जारका लागि आवश्यक ‘एचडिपिई’ को मूल्य अन्तर्राष्ट्रिय बजारमा पछिल्लो महिनामै ४५ प्रतिशत बढेको महासङ्घले जनाएको छ ।

अमेरिका–इजरायल र इरानबिचको बढ्दो तनावले खाडी मुलुकमा असुरक्षा बढ्दा स्टे«ट अफ हर्मुज हुँदै नेपाल र भारतमा आयात हुने ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानीमा प्रत्यक्ष अवरोध सिर्जना भएको छ । यो मार्ग असुरक्षित भएपछि कुनै पनि अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले नयाँ अर्डर लिन मानिरहेका छैनन् र पहिले नै खुलिसकेका प्रतीतपत्र (एलसी) को सिपमेन्टसमेत रोकिएको छ । महासङ्घका अनुसार कोशी प्रदेशमा एक/दुई दिनभित्रै कच्चा पदार्थ सकिएर उद्योग बन्द गर्नुपर्ने अवस्था छ भने मधेश प्रदेशमा चार/पाँच दिनसम्म लगभग थेग्ने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा एक सातालाई धान्न सक्ने कच्चा पदार्थ रहेको महासङ्घले जनाएको छ । यस्तै बागमती र गण्डकीमा ३० प्रतिशत मात्रै उद्योग सञ्चालन गर्दा १० दिनसम्म धान्न सकिन्छ कि भन्ने अनुमान महासङ्घले गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक तीन लाख ५० हजार थान जार र ४० हजार काटुन (प्रतिकार्टोन १२ बोतल) बोतलको पानी माग छ । बजारमा १० लाखभन्दा बढी जार रहे पनि तिनका लागि आवश्यक पर्ने नयाँ बिर्को र सिल बनाउने कच्चा पदार्थ सकिएकाले आपूर्ति प्रणाली अवरोध आएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार दैनिक तीन लाख ५० हजार बिर्कोको माग पूरा गर्न सक्ने क्षमता अहिले उद्योगसँग नभएको बताउँदै आएका छन् ।

सरकारले कच्चा पदार्थ आयातमा भन्सार र कर छुट दिएर उपभोक्तालाई सस्तोमा पानी खुवाउने वातावरण बनाउनुपर्ने नत्र भने उद्योग बचाउन ४५ प्रतिशतसम्म मूल्यवृद्धि गर्न बाध्यतामा उद्योगी रहेको महासङ्घका अध्यक्ष लिम्बूले बताउनुभयो । महासङ्घ नयाँ सरकार गठन भएसँगै मूल्य बढाउँदा असहयोग गरेको ठहर्ने डरले हामी पर्ख र हेरको अवस्थामा महासङ्घ रहेको अध्यक्ष लिम्बूको भनाइ छ । महासङ्घका अनुसार प्रतिबोतल १६ रुपियाँ र प्रतिजारको मूल्य ४७ रुपियाँ रहेकोमा अब जार, बोतल र बिर्को बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य ४५ प्रतिशत बढेपछि त्यही रेसियोमा बढाउनुपर्ने बाध्यता रहेका छ ।

यसैबिच नेपाल पानी उद्योग महासङ्घले प्रशोधित जार र बोतलको पानीको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ । महासङ्घले सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई ज्ञापनपत्रमार्फत यस्तो माग गरेको हो ।

महासङ्घका अध्यक्ष विक्रम लिम्बूको नेतृत्वमा गएको टोलीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण खानेपानीको उत्पादन लागत बढेको भन्दै मूल्य समायोजनको माग गरेको छ । ज्ञापनपत्रमा अमेरिका, इजरायल र इरानबिचको क्षेत्रीय द्वन्द्वका कारण कच्चा तेल (क्रुड पेट्रोलियम) को मूल्यमा वृद्धि र आपूर्तिमा समस्या आएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply