हेमा भट्ट, पुस १०
कञ्चनपुर- कञ्चनपुर जिल्लामा खेलकुद विकास र सहिदप्रति सम्मान व्यक्त गर्ने उद्देश्यसहित प्रथम खुल्ला सहिद स्मृति फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। समर्पण फुटबल क्लब (S.F.C.), कृष्णपुर नगरपालिका–६, कञ्चनपुरको आयोजनामा उक्त प्रतियोगिता पुस २१ गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोह सोही दिन दिउँसो १२ बजे गरिने कार्यक्रम तय गरिएको छ। आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, भव्य तथा अनुशासित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अगाडि बढाइएको छ।
देशभरका विभिन्न जिल्लाका फुटबल क्लब तथा टिमहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरिएको आयोजक समितिले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ भने खेलहरू FIFA का आधिकारिक नियमअनुसार खेलाइने छन्। साथै, प्रतियोगितामा हुने सबै खेलका रेफ्रीहरू ANFA मान्यताप्राप्त रहनेछन्, जसले खेलको निष्पक्षता र गुणस्तर सुनिश्चित गर्ने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक टिममा १६ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर अनिवार्य रूपमा समावेश हुनुपर्ने व्यवस्था गरिएको छ। खेलाडीहरूले खेल अवधिभर जर्सी, मोजा तथा सीन गार्ड अनिवार्य प्रयोग गर्नुपर्ने नियम पनि आयोजकले लागू गरेको छ।
पुरस्कारतर्फ, प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ६०,६६६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु. ३०,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै जिल्लामा फुटबल खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
सम्पूर्ण खेलहरू सिंहपुर सामुदायिक वनको खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताको अध्यक्षता समर्पण फुटबल क्लबका अध्यक्ष राजन चौधरीले गर्ने कार्यक्रम तय भएको छ।
आयोजकका अनुसार सहिदहरूको स्मृतिमा आयोजना गरिने यस प्रतियोगिताले खेलकुदमार्फत सामाजिक एकता, अनुशासन र युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ। स्थानीयवासी, खेलप्रेमी तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिताले प्रतियोगिता ऐतिहासिक र सफल बन्ने अपेक्षा गरिएको छ।
