प्रेस सेन्टरका उपमहासचिव हर्क सिंह प्रपाला समानुपातिक सिफारिसमा

रैकवार खबर
कैलाली — प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्क सिंह प्रपाला (हरिस) लाई नेपाली कम्युनिस्ट पार्टी कैलालीले प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीले उनलाई अल्पसङ्ख्यक तथा लोपोन्मुख क्लष्टर अन्तर्गत समावेशी प्रतिनिधित्वका आधारमा केन्द्रमा सिफारिस गरेको हो।

नेकपा कैलालीले जिल्लाभरिका प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका आकांक्षीहरूको नाम टुंग्याउँदै केन्द्रमा पठाइसकेको जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र सिफारिस प्रक्रियामा तीव्र रूपमा जुटिरहेका बेला प्रपालाको नाम सिफारिस हुनु पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

समानुपातिक सिफारिसपछि छिनोफानो डट कम सँगको कुराकानीमा प्रपालाले पार्टीले आफूले गरेको लामो संघर्ष, त्याग र योगदानको मूल्याङ्कन गरेको भन्दै सम्पूर्ण नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। उनले कम्युनिस्ट आन्दोलनको विरासतलाई आत्मसात् गर्दै सुशासन, न्याय र समग्र विकासलाई केन्द्रमा राखेर राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता जनाए।

प्रपालाले भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिने र सुशासनका पक्षमा आफ्नो आवाज अझ बुलन्द बनाउने स्पष्ट पारे। “जनताको विश्वास र पार्टीको अपेक्षालाई कहिल्यै कमजोर हुन दिने छैन,” उनले भने।

हर्क सिंह प्रपाला (हरिस) को राजनीतिक चेतना र सक्रियता तत्कालीन नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) बाट सुरु भएको हो। परिवर्तनमुखी राजनीति, जनपक्षीय विचार र सामाजिक न्यायको पक्षमा उभिँदै उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा समेत सक्रिय छन्।

करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील प्रपालाले पछिल्ला १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो मार्फत पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनी प्रेस सेन्टर कैलालीका पूर्व अध्यक्ष भइसकेका व्यक्ति हुन् भने हाल प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव को जिम्मेवारी सम्हालिरहेका छन्।

अन्याय, अत्याचार र विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएका प्रपाला लोकतान्त्रिक व्यवस्था, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन्। पत्रकारिता, राजनीतिक सक्रियता र सामाजिक सेवालाई समानान्तर रूपमा अघि बढाइरहेका उनको उम्मेदवारी सिफारिसलाई समावेशी लोकतन्त्रको सुदृढीकरण र जनआवाजको सम्मान को संकेतका रूपमा लिइएको छ।

राजनीति र पत्रकारिताबीचको लामो अनुभव बोकेका प्रपाला संसदमा पुगे जनताका मुद्दा, प्रेस स्वतन्त्रता, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने विश्वास पार्टी पंक्तिमा देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply