खेमराज भट्ट, पुस २५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ। ‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशका साथ उक्त कार्यक्रम नेप्सेको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भएको हो।


नेप्सेको कार्यालय यु.एन.आई. शान्तिमार्ग, भद्रकाली, काठमाडौंमा आयोजना गरिएको रक्तदान कार्यक्रम २०८२ साल पुस २५ गते शुक्रवार सम्पन्न भएको हो। कार्यक्रममा नेप्सेका कर्मचारी, व्यवस्थापन पक्ष तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रममार्फत नेप्सेले संस्थागत उपलब्धिसँगै समाजप्रतिको दायित्व निर्वाह गर्नु आवश्यक रहेको सन्देश दिएको छ। रक्त अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रमले आपतकालीन अवस्थामा जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागीहरूले नियमित रक्तदानले धेरैको जीवन जोगाउन सकिने भन्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। नेप्सेले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
नेपालको पूँजी बजारको प्रमुख संस्थाका रूपमा स्थापित नेप्सेले आफ्नो ३३ वर्षे यात्रामा आर्थिक विकाससँगै सामाजिक सद्भाव र मानवीय सेवामा समेत सक्रिय रहँदै आएको सन्देश यस रक्तदान कार्यक्रममार्फत पुनः स्पष्ट भएको छ।


